काठमाण्डु – नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुलीको दुधौली नगरपालिका–१२ घर भएकी ४० वर्षीया गिता कुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ घर भएका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ घर भएका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीको गौरीगंगा नगरपालिका–६ घर भएका ४९ वर्षीय भीमबहादुर साउद रहेका छन् ।
काठमाण्डु उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्ट हाउस लगायत दोहोरी सेन्टरहरूमा नाबालिकाहरूलाई आर्थिक लाभ लिई यौन शोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरी टोलीले संलग्नहरूलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाण्डुको ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लव, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेष्ट हाउसबाट ८ जना नाबालिकाहरूलाई उद्धार गरेको छ ।
उनीहरूउपर जिल्ला अदालत काठमाण्डुबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया