मुन्दुम पदमार्ग : उकाली-ओरालीमा भेटिएको इतिहास र प्रकृति

मुन्दुम पदमार्ग : उकाली-ओरालीमा भेटिएको इतिहास र प्रकृति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुन्दुम के हो त?

मूलतः किराँत समुदायको भनिए पनि मुन्दुमलाई सिङ्गो मानव सभ्यताको अलिखित इतिहास वा ग्रन्थका रूपमा मानिन्छ। यो पुर्खाहरूबाट पछिल्लो पुस्तामा ज्ञान हस्तान्तरण हुँदै आएको मौखिक परम्परा हो। पुर्खा, प्रकृति र पवित्र स्थलहरूप्रति आस्था जगाउने, मानव समुदायको पहिचान, आपसी सम्बन्ध र सामूहिक जीवनलाई मार्गदर्शन गर्ने ज्ञानको स्रोतका रूपमा मुन्दुमलाई लिइन्छ।

मानव समुदायको भाषा, कला, सङ्गीत, नृत्य, चाडपर्व, खानपान, भेषभूषा र रीतिरिवाजसँग मुन्दुमको गहिरो सम्बन्ध छ। वनस्पति, वनजङ्गल, प्राणी जगत्, हिमाल, खोला, नदी र भू–परिवेशसँग सम्बन्धित परम्परागत ज्ञानको स्रोत पनि मुन्दुम नै हो।

मानव उत्पत्तिको केन्द्र, त्यसपछि विकास भएको संस्कार, संस्कृति, धर्म, इतिहास, भूगोल, वनस्पति र तिनको विविधताका साथै मानिसको जीवनपद्धतिबारे मुन्दुममा विस्तृत रूपमा वर्णन गरिएको पाइन्छ। मुन्दुमले जीवन र जगत्मा मानिसको अस्तित्व र स्थान कहाँ, कसरी र कस्तो छ भन्ने बोध गराउँछ। यस अर्थमा मुन्दुम जीवनदर्शन पनि हो।

मानव सभ्यता, समाज, संस्कृति, भाषा, सौन्दर्य र शास्त्रको विकास कसरी हुन पुग्यो भन्ने कुराको सूत्रबद्ध गीत र सङ्गीत हो मुन्दुम। प्रकृतिको अनुपम सुन्दरता र उपहारसँगै त्यही प्रकृतिका डरलाग्दा तथा रौद्र प्रलयकारी रूपसँग मानिसले कसरी साइनो गाँस्दै आए, कसरी बाँचे, कसरी खेले र कसरी सङ्घर्ष गर्दै आफ्नो अस्तित्व कायम राखेर विकासको यात्रा अघि बढाए भन्ने कुराको साक्षात् फेहरिस्त पनि हो मुन्दुम।

साल्पा पोखरी र सिलिचुङ शिखर

सिलिचुङ शिखर समुद्री सतहबाट ४ हजार १५५ मिटरको उचाइमा अवस्थित छ। यस शिखरबाट सगरमाथा (चोमोलुङ्मा), मकालु (सेसेलुङ), कञ्चनजङ्घा (सेवालुङ), आमादब्लम, कुम्भकर्ण (फक्ताङ्लुङ), नुम्बुरलगायत विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ।

सूर्योदयको पहिलो किरणसँगै अत्यन्तै मनमोहक ढङ्गले सजिने यी हिमशृङ्खलाहरूले सिलिचुङ शिखरमा पाइला टेक्ने जोकोहीलाई भावुक, उत्तेजित र उद्वेलित बनाइदिन्छन्। आफ्नै भूगोलको सुन्दरतासँग परिचित गराउँछन्। यो परिचयसँगै शिखरमा पाइला टेक्नेहरू मोहित र गौरवान्वित हुन्छन्।

ब्रह्ममुहूर्तको समयमा शिखरतिर उक्लिरहँदा एकातिर निकै कठिन भौगोलिक बनावटले चुनौती दिइरहेको हुन्छ भने अर्कोतिर एकनासले चलिरहने चिसो बतासले शरीरमा पारेको प्रभाव र मनमस्तिष्कमा उर्लिएका असीमित ज्वारभाटालाई शान्त बनाइरहेको हुन्छ। त्यही बेला देखिने अरुणोदयको दृश्यले हाम्रो मनलाई सर्लक्कै पगाल्छ।

पटक–पटक टक्क रोकिएर क्षितिजको गर्भबाट पोखिएको रातो लालीमा नियाल्दा आफैँभित्र नयाँ आशा र उत्साह सञ्चार भएको महसुस हुन्छ। छिनभरमै देखिने सूर्योदयको सुन्दर दृश्य र त्यसपछि केही समयको ठाडो उकालोविरुद्धको सङ्घर्षसँगै शिखरमा टेकिएका पाइलाहरूको जितले हामीलाई हर्षोल्लासित बनाउँछ। विजयको आभास दिलाउँछ। किराँती मिथकअनुसार ज्ञान केन्द्रका रूपमा रहेको यस स्थानमा पाइला टेक्दा बेग्लै आनन्द र गौरवको अनुभूति हुन्छ।

शिखरमा र शिखर केन्द्रित टोपी खस्ने उकालो यात्राका क्रममा किराँती समुदायका विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा अनिवार्य रूपमा प्रयोग गरिने र स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण मानिएका सुनपाती र भैरुङपातीको सुगन्धले हामीभित्र अनौठो शक्ति सञ्चार गरिरहेको महसुस हुन्छ।

किराँती मिथकअनुसार कठिन तर अत्यन्तै सुन्दर सिलिचुङ शिखरको मानव सभ्यताको इतिहासमा छुट्टै र विशेष महत्त्व छ। किराँती समुदायका पुर्खा सुम्निमा र पारुहाङ यही शिखरमा अस्तित्वमा आएका थिए भन्ने विश्वास छ। सुम्निमा यही शिखरमा रहेकी थिइन् भने शिखरको आधार शिविरमा अवस्थित सुन्दर साल्पा पोखरीभित्र पारुहाङले गुप्तवास बसेर ध्यान र तपस्या गरेका थिए। पारुहाङले त्यही समयमा अनेकौँ रूप धारण गरेको पौराणिक कथा र किंवदन्तीहरूमा उल्लेख पाइन्छ।

पारुहाङले सुम्निमासँगको सहकार्यमा मानव जातिको विकास र विस्तारका लागि अद्वितीय भूमिका निर्वाह गरेको विश्वास गरिन्छ। त्यही योगदानको परिणामस्वरूप आज मानव सभ्यता र समाजको विकास भएको मान्यतालगायत मानव विकाससँग सम्बन्धित बृहत् विषयवस्तु मुन्दुममा उल्लेख छन्। यससम्बन्धी जनविश्वास पनि किराँती समुदायमा रहिआएको छ।

यसकारण साल्पा पोखरी र सिलिचुङ शिखरले मानवशास्त्रीय दृष्टिकोणबाट समेत अनुपम महत्त्व राख्छन्। किराँती समुदायले साल्पा पोखरी र सिलिचुङ शिखरलाई पवित्र धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा लिने गरेका छन्। उनीहरूका लागि यो मुन्दुमको उत्पत्ति केन्द्र, शक्ति प्राप्त गर्ने स्थान, किराँती समुदायमा प्रचलित धामी, बिजुवा र नाक्छोङ विद्याको स्रोत तथा पितृहरूको बासस्थानसमेत हो। अन्य समुदायका मानिसले पनि यस क्षेत्रलाई विशेष भक्ति र आस्थाका साथ यात्रा गर्ने तथा पूजा–अर्चना गर्ने गरेका छन्।

मुन्दुम पदमार्ग

मुन्दुम पदमार्गको अवधारणा ठ्याक्कै यही समयदेखि सुरु भएको हो भनेर भन्न नसकिए पनि २०७५ सालदेखि यसको ठोस र औपचारिक कार्य प्रारम्भ भएको मान्न सकिन्छ। परापूर्वकालमा मानिसका पुर्खाहरूले विकास र विस्तारका क्रममा प्रयोग गरेको बाटो पहिल्याउँदै मुन्दुम पदमार्गको मार्ग निर्धारण गरिएको हो।

नेपाल सरकारले मुन्दुम पदमार्गलाई सन् २०१८ अर्थात् २०७५ सालमा प्रमुख गन्तव्यहरूको सूचीमा समावेश गरेपछि सोहीअनुरूप प्रदेश तथा स्थानीय सरकार, स्थानीय बासिन्दा, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोग र सक्रियतामा यस पदमार्गको विकास, संवर्द्धन र संरक्षण हुँदै आएको छ।

ग्रेटर मुन्दुम पदमार्ग धनकुटा र उदयपुर जिल्लाको सिमानामा पर्ने दूधकोशी, अरुण र तमोर नदीको सङ्गमबाट एकीकृत रूप लिई बन्ने सप्तकोशी नदीमा रहेको खुवालुङबाट सुरु भएर सिलिचुङ शिखरसम्म फैलिएको छ। यसको कुल लम्बाइ करिब १६८ किलोमिटर रहेको छ।

खुवालुङ पानीमा गाडिएको ढुङ्गा हो, जसलाई किराँती समुदायले पवित्र मुन्दुमी स्थलका रूपमा मान्ने गरेका छन्। किराँती समुदायका धार्मिक तथा सांस्कृतिक परम्परा, पूजा र पितृपूजामा सुरु र अन्त्यमा खुवालुङको पुकार गरिन्छ। किराँती पुर्खाहरूले यही ढुङ्गालाई साक्षी राखेर नदीका किनारैकिनार बसाइँ सर्दै चारैतिर फैलिएको विश्वाससमेत रहिआएको छ।

व्यावहारिक रूपमा भने पदयात्रीहरूले आफ्नो सुविधाअनुसार खोटाङ जिल्लाको तावाभन्ज्याङ वा भोजपुरको पानधारेबाट पदयात्रा सुरु गर्न सक्छन्। त्यहाँबाट सिलिचुङ शिखर पुगेर कोशी राजमार्गमा पहुँच हुनेहरूले सिलिचुङ शिखरको फेद हुँदै माथिल्लो फेदीबाट सङ्खुवासभाको तुम्लिङटारसम्म करिब १०० किलोमिटरको पदयात्रा पूरा गर्नुपर्ने हुन्छ। कोशी राजमार्गको प्रयोग नगर्नेहरूका लागि भने सिलिचुङ शिखरबाट फर्किएर मैयुङ हुँदै बाघाखोरबाट भोजपुर सदरमुकाम जाने वा चखेवा हुँदै सडकमार्गबाट फर्किने विकल्प पनि छन्।

यस पदमार्गको अवधारणा मूलतः किराँती समुदायको उत्पत्ति र विस्तारका क्रममा विकास भएका प्राचीन ज्ञान, ऐतिहासिक महत्त्व, प्रकृति, धार्मिक आस्था, जीवनपद्धति, जीवनशैली, मौलिक संस्कृति, भाषा र सामाजिकताको गहिरो अनुभूति तथा अध्ययन गराउनु हो। यसका साथै जैविक विविधतासँग सम्बन्धित वनस्पति र जीवजन्तुबारे जानकारी गराउँदै पर्यटन विकासको प्रबल सम्भावनाको खोजी, अनुसन्धान र प्रचारप्रसार गर्नु पनि यसको उद्देश्य हो।

यस पदयात्राका क्रममा किराँती सभ्यता र मुन्दुम संस्कृतिसँग सम्बन्धित विभिन्न स्थलहरू अवलोकन गर्न सकिन्छ। विभिन्न प्रजातिका गुराँस, चाँप, सल्ला, धुपी र अनेकौँ वनस्पतिले भरिएका वन, आँखाले भ्याइनसक्ने चिल्ला र सुन्दर घाँसे मैदान, प्राकृतिक रूपमा बनेका सुन्दर पोखरी, कञ्चन चाँदीजस्तै पानी बगाउने खोला तथा साना–ठूला झरना यहाँका आकर्षण हुन्। गजधम्म परेर लमतन्न सुतेका हिमालका लहर, अनेकौँ आकारप्रकारका पहाडका थुम्का, साना उपत्यकाजस्ता देखिने जमिनका आकृति तथा पानी बग्ने खोंच र त्यसले बनाएका धाराहरूको मनोरम दृश्यले यात्रालाई थप रोमाञ्चक बनाउँछन्।

विश्वमै दुर्लभ मानिएको रेडपाण्डा पाइने क्षेत्र भएकाले यहाँ रेडपाण्डा देख्ने दुर्लभ अवसर पनि प्राप्त हुन सक्छ। विभिन्न वन्यजन्तुसँगको जम्काभेट, अनेकौँ सुन्दर प्रजातिका चराचुरुङ्गीसँगको साक्षात्कार, गुराँस, चाँप र धुपी सल्लाका जङ्गलमा डाँफेसँगको भेट तथा तलतिर देखिने सुन्दर बस्तीहरूको दृश्यले पदयात्रीलाई लोभ्याउँछ।

ठाउँठाउँमा बनाइएका चिल्ला ढुङ्गाका चौतारी, हरिया र चिल्ला पाटनमा आलाङ खेल्दै यात्रा अघि बढाउनु तथा त्यति उचाइमा समेत यत्रतत्र उपलब्ध हुने मिठो तर चिसो पानीको स्वाद लिनु पदयात्राका थप विशेषता हुन्।

अनन्त पाटनहरूमा भेडाका लर्को र तिनको भ्या–भ्या आवाज, चौंरी गाईको चरन तथा घाँटीमा बाँधिएका घण्टीको आवाज, घोडाका लर्को, बाँधेर राखिएका डरलाग्दा भोटे कुकुरको ह्वाङह्वाङ आवाज र राई तथा शेर्पा दाजुभाइ–दिदीबहिनीहरूको मिठासपूर्ण स्वागतले यात्रालाई थप स्मरणीय बनाउँछ।

त्यसमा परम्परागत गोठमा बस्ने अनुभव (गोठस्टे), शुद्ध स्थानीय खानपान, संस्कृति, भेषभूषा, स्थानीय बासिन्दाको चालचलन, भाषा र परम्पराको नजिकबाट अनुभूति गर्न पाइन्छ। ठाडो उकालो र ओरालोले थकित बनाएको शरीरलाई समेत यी अनुभवले थकान बिर्साइदिनेछन्। समग्रमा, मुन्दुम पदमार्गको यात्रा एउटा फरक र अविस्मरणीय अनुभव हो।

हाम्रो यात्रा

मुन्दुम पदमार्गका सम्बन्धमा केही वर्षअघिदेखि नै विभिन्न सञ्चारमाध्यम र यससँग सम्बन्धित व्यक्तिहरूबाट सुन्दै, पढ्दै आएका थियौँ। पदयात्रा गर्ने योजना पनि बनाइरहेका थियौँ। मूलतः आदरणीय नेता भीम राई, प्रिय भाइ मनोज चाम्लिङ र मबीच सल्लाह भएर यसपटक यात्रा गर्ने निधो गर्‍यौँ। जाने योजनामा अरू साथीहरू पनि हुनुहुन्थ्यो, तर विभिन्न कारणले उहाँहरू सहभागी हुन सक्नुभएन।

हाम्रो पदयात्री टोलीमा थपिएकी थिइन् मनोज भाइकी छोरी अमिशा।

पदयात्रा गर्ने अन्तिम निर्णय भएपछि भोजपुर निवासी हाम्रा प्रिय भाइ, अनेरास्ववियु धनकुटाका पूर्वनेता तथा हाल मुन्दुम पदमार्गसम्बन्धी विभिन्न व्यवस्थापनमा अहोरात्र खटिरहनुभएका समाजसेवी एवं अगुवा व्यक्तित्व जीवन किराँतीसँग सम्पर्क गर्‍यौँ।

उहाँले पदमार्गको यात्रामा लाग्ने समय, आवश्यक लजिस्टिक सामग्री, यात्रा अवधिभर खाने–बस्ने व्यवस्था, अन्य विभिन्न जानकारी र उपायका साथै पदयात्राका लागि उपयुक्त समयबारे जानकारी दिनुभयो। यात्रा अवधिभर गाइडका रूपमा सहयोग गर्ने वचनसमेत दिनुभयो।

हाम्रो गाइडको सल्लाहअनुसार यात्रा प्रारम्भ भयो। पहिलो दिन भोजपुरको पानधारे हुँदै टेम्के डाँडाको आधार शिविर चखेवा पुगेर बास बस्ने योजना थियो। तर निरन्तरको झरीले दिक्क बनाएको थियो। भोलिपल्ट पनि बिहान करिब ११ बजेसम्म निरन्तर झरी परिरहँदा यात्रा प्रारम्भ गर्न निकै कठिन भयो।

क्रमशः मौसम खुल्दै गएपछि हामीले मध्याह्नतिर दोस्रो दिनको यात्रा सुरु गर्‍यौँ। जति उकालो लाग्दै गयौँ, उति मौसम सफा हुँदै गयो। त्यसपछि हाम्रो निम्ति अरू के चाहिएको थियो र!

भीम सरले व्यवस्थापन गर्नुभएको मकै, भटमास, भुटेको चना र बदामको स्वाद लिँदै मुन्दुम पदमार्गबाट लिनुपर्ने भरपूर आनन्द, मज्जा र सन्तुष्टि प्राप्त गर्दै हामी उकाली, ओराली, बाँकटे, भन्ज्याङ र चौतारीहरू पार गरिरहेका थियौँ। यात्राको प्रारम्भमा मौसमले हामीलाई धोका दिए पनि दोस्रो दिनको मध्यतिरदेखि भने भरपूर साथ दिएको थियो।

डेढ दिनसम्म मौसमले साथ नदिएको देखेपछि हाम्रा पुराना मित्र, राजनीतिक सहकर्मी, भाषाविद् तथा हाल धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक भोजपुर तिम्मा निवासी इच्छापूर्ण राई सरले फेसबुकमा बडो व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको थियो।

संयोगले उहाँ पनि त्यही बेला भोजपुरको तिम्मा पुग्नुभएको रहेछ। उहाँको घर चखेवा बजारबाट करिब २२ किलोमिटर टाढा पर्ने सुन्दर मैयुङ पाटनको फेदीतिर रहेछ। त्यहाँ पुग्न करिब दुई घण्टा झर्नुपर्ने रहेछ। मैले उहाँलाई समय मिलाएर दुई घण्टा माथि निस्कन आग्रह गरेँ। उहाँले पनि सोहीअनुसार समय व्यवस्थापन गरेर मैयुङ डाँडा (साउने डाँडा) आइपुग्नुभयो।

पदयात्राको तेस्रो दिन मध्याह्नतिर उहाँसँग हाम्रो भेट भयो र त्यसपछि बाँकी यात्रा सँगै अघि बढायौँ।

पदमार्गका क्रममा पर्ने धोत्रे छिमालुङ, मैयुङ र बलौटेमा रहेका गोठस्टेहरूमा बास बस्नुका साथै चौंरीको सुकुटी, वाचिपा र विभिन्न स्थानीय परिकारको शुद्ध स्वाद लिने अवसर प्राप्त भयो। होटल र होमस्टेमा बस्दै आएको अनुभवभन्दा बिल्कुलै पृथक र आनन्ददायी अनुभव थियो त्यो।

यात्रामा इलाम, झापा र धरानबाट आउनुभएका रानिया बहिनी र भाइहरूको छ जनाको टोली पनि हामीसँगै थियो। यो टोलीले पनि पदमार्गको अनुपम र अद्भुत आनन्द भरपूर रूपमा लिइरहेको थियो।

यात्रा अवधिभर जीवन भाइले विभिन्न ठाउँको परिचय, त्यससँग जोडिएका किंवदन्ती, मुन्दुम पदमार्गमा आगामी दिनमा गरिने विकासका योजना, विभिन्न वनस्पति, चराचुरुङ्गी र वन्यजन्तुका बारेमा जानकारी दिँदै हाम्रो बाटो कटाउनुभएको थियो।

इच्छा सरले आदिवासी जनजातिको इतिहास, भाषा, संस्कार, संस्कृति र अन्य विविध विषयमा आफ्नो अध्ययन तथा अनुभवका आधारमा हामीलाई थुप्रै जानकारी दिनुभयो। उहाँले गुराँसघारी र तेर्सैतेर्सो फैलिएका सुन्दर पाटनहरू पार गराउँदै यात्रा अघि बढाउनुभएको थियो।

कुराकानीकै क्रममा भीम सर, इच्छा सर र जीवन भाइबीच ‘राई पदवी हो कि जाति नै राई हो?’ भन्ने विषयमा आ–आफ्नो ज्ञान र अनुभवका आधारमा थुप्रै तर्कवितर्क भए। तर्कमा सहमति वा विमति हुनु सामान्य कुरा थियो।

यो यात्रामा भीम सरका चुट्किला र उहाँले प्राप्त गर्नुभएका ज्ञान तथा अनुभवका अनेकौँ किस्सा खासै सुन्ने अवसर मिलेन। तर जीवन भाइको मिठो, झर्रो, घुमाउरो र बडो व्यङ्ग्यात्मक तरिकाले कुरा गर्ने कलाको भने निकै प्रशंसा भयो।

मनोजजी, छोरी र ममा अलि बढी नै जिज्ञासा थिए। ती जिज्ञासा भीम सर, इच्छा सर र जीवन भाइले मेटाइदिनुहुन्थ्यो।

उमेरले तीन कोरीभन्दा माथि पुग्नुभएका भीम सरको उकाली–ओरालीमा हिँड्न सक्ने तागत देखेर हामी सबै चकित भएका थियौँ। दोस्रो दिन छोरी अमिशालाई स्वास्थ्यमा सामान्य समस्या देखिए पनि उसको हिँडाइले हामी सबैलाई माथ खुवाएको थियो।

उकालो भनेपछि निकै गाह्रो मान्नुहुने इच्छा सरले तेर्सो र ओरालोमा भने निकै डिङ हाँक्नुभएको थियो। तर यात्राको पाँचौँ दिनसम्म आइपुग्दा तेर्सो र ओरालोमा समेत उहाँको डिङले काम गरेन।

यात्राको चौथो दिन कठिन लौरोको उकालो पार गरेर रावाखोलाको शिरमा उम्रिएको चिसो पानी पिएपछि रावाधापको ओरालो यात्रा सुरु भयो। दिउँसोको खाना निकास भन्ज्याङमा खाने व्यवस्था गर्न भाइ जीवनले हाम्रो टोलीका दुई जना भाइलाई अगाडि पठाउनुभएको थियो।

निकै कठिन तर रोमाञ्चकारी उकाली–ओराली, विभिन्न मनमोहक साना–ठूला प्राकृतिक पोखरी र घना गुराँस तथा चाँपका सुन्दर घारीहरू पार गर्दै हामी निकास भन्ज्याङ पुग्यौँ। त्यहाँ पुग्दा खाना तयार भइसकेको थिएन। भाइ जीवन आफैँ आलुको तरकारी पकाउन लाग्नुभयो।

शेर्पेनी बहिनी (कमरेड सम्झना, जो १० वर्षे माओवादी युद्धकालमा छापामारका रूपमा रहनुभएको रहेछ) लाई मैले दाल कस्तो छ भनेर सोधेँ। कमरेड सम्झनाले चौंरीको दूधबाट बनेको कुरौनीको दाल खुवाउने कुरा गर्नुभयो।

म खानेकुरामा अलि फराकिलो छु। जस्तो आए पनि एक पेट खाने हो भन्ने मान्यता सधैँ राख्छु। तर कुरौनीको दालसँग भने कसैले पनि खाना रुचाउनुभएन। मैले चाहिँ आफैँ थाल र बटुका सफा गरेर मस्तसँग खाएँ।

कुरौनीको दालभात खाएपछि भाइ मनोजलगायत धेरैलाई एकैपटक पखाला र बान्ता भयो। भीम सरले भने अलिकति चलाखी गर्दै दूध तताउन लगाएर त्यही दूधसँग खाना खानुभएको थियो। अधिकांशले खाना त्यसै छाडेर हिँडे।

निकास भन्ज्याङको यो ‘खाना काण्ड’ पछि हामी बाँकटे हुँदै भव्य गुराँसघारीसहितको रुनीको उकालो चढ्यौँ। रुनीको उकालोमा भीम सर र छोरीले हामीलाई चुनौती नै दिनुभयो। उहाँहरू निकै अगाडि पुग्नुभयो। मनोजजी र म बीचमा थियौँ भने बाँकी टोली निकै पछाडि थियो।

दुःखसुख गर्दै हामी साँझ कुलुपङ्खो भन्ने ठाउँमा पुग्यौँ र बास बस्ने चाँजोपाँजो मिलायौँ। दुईवटा मात्र बस्ने ठाउँको व्यवस्था भएको त्यस स्थानमा स्वदेशी तथा विदेशी पदयात्रीहरूको निकै भीड थियो। शेर्पेनी दाजुभाइ–दिदीबहिनी र विदेशीहरूसँग इच्छा सरले गर्नुभएको कुराकानी तथा मनोजजीले गर्नुभएको ठट्टा र रमाइलो निकै यादगार रह्यो।

४ हजारदेखि एकैपटक हजार मिटरभन्दा कमको ओरालो यात्रा

हामी यात्राको पाँचौँ दिनमा थियौँ। कुलुपङ्खोबाट साल्पा पोखरी हुँदै सिलिचुङ शिखरतर्फको यात्रा बिहान ४ बजे सुरु गर्‍यौँ। करिब आधा घण्टाभन्दा बढी हिँडेपछि पवित्र साल्पा पोखरी पुगियो। तर धर्तीमा प्रकाशको पदार्पण भइसकेको थिएन।

अँध्यारोमै भए पनि पवित्र साल्पा पोखरीको पानी छोएर हामी सिलिचुङ शिखरतिर लाग्यौँ। शिखरतर्फको यात्रामा करिब एक किलोमिटर जति बाटो व्यवस्थित बनाइएको रहेछ। त्यसको समाप्तिसँगै कठिन बाटो र उकालो सुरु भयो। त्यसको कठिनाइको कुरा के गर्नु! बयान गर्न मलाई खासै शब्द नै आएन।

हाम्रो टोलीभन्दा अगाडि दुईवटा टोली थिए। हाम्रै टोलीका केही भाइबहिनी पनि अगाडि थिए। भीम सर र म भने सँगै थियौँ। हामीभन्दा निकै पछाडि इच्छा सर, मनोजजी, जीवनजी, रानिया बहिनीहरू र छोरी थिए।

जब अप्ठ्यारो बाटो पार गर्न थालियो, मैले इच्छा सर र छोरीचाहिँ माथि पुग्न सक्दैनन् होला भन्ने सोचेँ। तर उहाँहरू पनि पुग्नुभयो। त्यो उकालो र अप्ठ्यारो बाटोमा इच्छा सर र मेरो हालत उस्तै भएछ। पूरै घस्रेर, लेपासिएर हिँड्नुपर्ने अवस्था थियो।

करिब तीन घण्टा १५ मिनेटको हिँडाइपछि भीम सर र मैले शिखरमा पाइला टेक्यौँ। करिब आधा घण्टा त्यहाँ बिताएर फर्किन लाग्दा हाम्रो टोलीका अरू सदस्यहरू पनि आइपुग्नुभयो।

बिस्तारै, अत्यन्तै सचेत भएर र आफ्नो शरीरलाई पूर्ण नियन्त्रणमा राखेर झर्नुपर्दा शरीरका मांसपेशीमा खाँदिएर हुने पीडाको महसुस हुन थालिसकेको थियो। मलाई उचाइदेखि हुने डर (एक्रोफोबिया) हल्का छ। अहिले सम्झँदा त्यस्तो बाटो हुँदै त्यति उचाइमा पुगेर कसरी फर्किएँ होला भन्ने लाग्छ।

फर्कने क्रममा साल्पा पोखरी र त्यही छेउमा बनाइएका नाक्छोङ, बिजुवा र चिन्डोका प्रतिमाहरू अवलोकन गर्दै हामी कुलुपङ्खो आइपुग्यौँ। त्यहाँ दिउँसोको खाना खायौँ।

अब त्यहाँबाट जीवन भाइ आएकै बाटो फर्किने र हामीले भने सङ्खुवासभाको तुम्लिङटार निस्कने बाटो समात्नुपर्ने थियो। त्यसका लागि साल्पासिलिछो गाउँपालिकाको माथिल्लो फेदीसम्म ओरालो झर्नुपर्ने थियो। स्थानीयहरूले उक्त ओरालो पार गर्न तीन घण्टाको समय लाग्ने बताएका थिए।

दिउँसो १ बजे हामीले फेरि ओरालो यात्रा सुरु गर्‍यौँ। सिलिचुङ शिखरबाट झर्दा खाँदिएको शरीर अब पूरै पीडामा रूपान्तरण भएको थियो। स्थानीयहरूको भनाइअनुसार तीन घण्टा लाग्ने बाटो पार गर्न हामीलाई करिब सात घण्टा लाग्यो।

ओरालोको पीडा के हो भन्ने कुरा सबैले त्यही बेला महसुस गर्‍यौँ। इच्छा सरको ओरालो र तेर्सोको डिङले पनि पूरै हार खाएको थियो। रानिया बहिनीहरूको टोलीमा रहेकी अर्की एक जना बहिनीलाई उनका आफ्नै भाइहरूले बोकेर ओरालो पार गराउनुपर्‍यो। रानिया बहिनीको अवस्था पनि झन्डै उस्तै थियो।

अत्यन्तै अप्ठ्यारो र नमिठो ओरालो थियो त्यो। एकै सर्कोमा त्यति ठाडो ओरालो मैले जीवनमा कहिल्यै हिँडेको थिइनँ।

त्यही कठिन ओरालो झर्दै गर्दा ठाउँठाउँमा मोबाइलको नेटवर्क आउन थालेको थियो। जीवन भाइले सम्पर्क नम्बर दिएर पठाउनुभएको साथीको फोन भने पटक्कै लागेन। त्यसपछि मैले मेरा पुराना साथी तथा नेकपा एमाले भोजपुरका नेता शरण राईलाई फोन गरेर फेदीमा खाने–बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेँ।

उहाँले स्थानीय अगुवा दिलीप भाइलाई फोन गरेर हाम्रो खाने–बस्ने व्यवस्था मिलाइदिनुभयो। करिब बेलुकी ८ बजे मात्र हामी माथिल्लो फेदीस्थित बस्ने ठाउँमा पुग्न सफल भयौँ।

त्यहाँ पुगेपछि भीम सर र मैले नुन र मनतातो पानीमा खुट्टा डुबाएर सेकेपछि निकै आराम महसुस गर्‍यौँ। भाइ जीवनबाहेक हाम्रो ११ जनाको टोलीले हायलकायल बनाउने त्यो ओरालोको थुप्रै चर्चा–परिचर्चा गर्‍यौँ।

हामी बसेको ठाउँ अत्यन्तै व्यवस्थित र सफा थियो। प्राकृतिक तापक्रमका हिसाबले पनि उपयुक्त थियो। चिसो मौसम र सिरेटो झेल्दै आएको शरीरले पाँच दिनपछि निकै न्यानो महसुस गरेको थियो।

हातैले बनाइएको कोदोको जुस र पोलेको लाङ्सवाको सुकुटीसहित बेलुकीको खाना खाएर हामी आनन्दले सुत्यौँ। भोलिपल्ट तुम्लिङटार हुँदै धनकुटा पुग्नु थियो।