सुन्धारा कारागारबाट फरार २ कैदी पक्राउ

सुन्धारा कारागारबाट फरार २ कैदी पक्राउ


काठमाण्डु – सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएका २ जना गम्भीर प्रकृतिका कैदीहरूलाई प्रहरीले पुन: पक्राउ गरेको छ ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा सिर्जना भएको अस्तव्यस्तताको फाइदा उठाउँदै कारागारबाट भाग्न सफल भएका उनीहरूलाई प्रहरीको विशेष टोलीले काठमाण्डुको टोखाबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमध्ये मानव बेचबिखन मुद्दामा ३२ वर्षको कैद सजाय पाएका ४६ वर्षीय श्यामलाल डंगोल रहेका छन् । काठमाण्डुको टोखा नगरपालिका–१ का स्थायी वासिन्दा डंगोलले ९ वर्ष जेल जीवन बिताइसके पनि अझै २३ वर्ष कैद भुक्तान गर्न बाँकी छँदै फरार भएका थिए । उनलाई प्रहरीले टोखा नगरपालिका–३ स्थित टोखाचण्डेश्वरी क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको छ ।

अपहरण, शरीर बन्धक, डाँका र संगठित अपराध जस्तो गम्भीर मुद्दामा सजाय भोगिरहेका ३० वर्षीय विनोद केसी भनिने विनोद गौतम पनि पक्राउ परेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–६ घर भई काठमाण्डुको बानियाटार बस्ने गौतमलाई १३ वर्ष ६ महिनाको कैद सजाय तोकिएको थियो । ३ वर्ष कैद भुक्तान गरिसकेका उनको १० वर्ष ६ महिना कैद बाँकी रहेको अवस्थामा उनी सुन्धारा कारागारबाट भागेका थिए ।

प्रहरी ब्यूरोबाट खटिएको विशेष टोलीले उनीहरू उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा खोजी गर्दा २०८२ पुस ३ गते टोखाचण्डेश्वरीबाट दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।

पक्राउ परेका दुवै कैदीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तानका लागि पुन: कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ ।