काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शेयर बजारमा भ्रामक सूचना फैलाएर र कृत्रिम कारोबार गरी अवैध मुनाफा कमाएको अभियोगमा शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अग्रवाललाई काठमाण्डु जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएलगत्तै शुक्रबार काठमाण्डुको चुनदेवीबाट नियन्त्रणमा लिइएको हो ।
सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७ (ग) विपरीत झुक्याउने विवरण र भ्रामक सूचना सार्वजनिक गरेका थिए । यसरी बजारलाई भ्रममा पारेर उच्च मूल्यमा शेयर बिक्री गरी उनले करीब ४९ लाख १९ हजार ८६५ रुपैयाँ ९० पैसा बराबरको अवैध नाफा आर्जन गरेको अनुसन्धानबाट देखिएको छ ।
अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समेत कृत्रिम रूपमा बढाएर बजारलाई प्रभावित पारेको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिका ‘टीएमएस युजर’ प्रयोग गरी आपसी खरिद–बिक्री गर्ने तथा आफ्ना आफन्त र सम्बद्ध संस्थाहरूबीच वास्तविक स्वामित्व परिवर्तन नहुने गरी कारोबार गरेर धितोपत्र सम्बन्धी ऐनको दफा ९४ र ९५ अन्तर्गतको झूटा कारोबार गरेको सीआईबीको दाबी छ ।
मोरङको विराटनगर स्थायी घर भई हाल ४२ वर्षका अग्रवाललाई धितोपत्र सम्बन्धी कसूरमा थप अनुसन्धान र कानूनी कारबाहीका लागि हिरासतमा राखिएको छ । धितोपत्र बजारको स्वच्छता कायम राख्न नियामक निकायको प्रतिवेदनका आधारमा सीआईबीले कारबाही अघि बढाएको छ ।




प्रतिक्रिया