काठमाण्डु – काठमाण्डुमा जारी साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार विभागीय टोली एपीएफ फुटबल क्लब भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीसँग भिड्दै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।
एपीएफ र इस्ट बंगाल दुवै टोली साफ क्लब च्याम्पियनसिप पहिलो संस्करणको उपाधि जित्ने दाउमा छन्।
राउन्ड रोबिनमा आधारित खेलमा इस्ट बंगाल शीर्ष र एपीएफ दोस्रो स्थानमा रहँदै फाइनलमा भिड्न लागेका हुन्। जारी प्रतियोगितामा एपीएफ र इस्ट बंगाल दुवै अपराजित टोली हुन्।
एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड महिला एफसीसँग गोलरहित बराबरी गरेको थियो।
तीन खेलमा जित र एक खेलमा बराबरी गरेको इस्ट बंगाल गर्दै १० अंकसहित शीर्षस्थानमा छ। यस्तै २ खेलमा जित र २ मा बराबरी गरेको एपीएफ ८ अंकका साथ दोस्रो स्थानमा छ।
च्याम्पियनसिपमा सहभागी भुटानको ट्रान्सपोर्ट युनाइटेड ३ अंक बनाएर तेस्रो स्थानमा रहेको छ । समान २ अंक भए पनि गोलअन्तरमा अघि रहँदै पाकिस्तानको कराँची सिटी चौथो र बंगलादेशको नसरिन एकेडेमी पुछारमा रहेर च्याम्पियनसिप सकाएका छन्।




प्रतिक्रिया