पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १७ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १७ वर्ष जेल सजाय


पाकिस्तान – संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको आदेशको प्रतिलिपिबाट उदृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई १ करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानूनअनुसार जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ ।

रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइका क्रममा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इमरानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) (सरकारी कर्मचारीहरूद्वारा आपराधिक दुर्व्यवहार) अन्तर्गत ७ वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ ।

उनकी श्रीमती बुशरा बीबीलाई पनि सोही प्रावधानअन्तर्गत कुल १७ वर्षको जेल सजाय सुनाइएको उल्लेख गरिएको छ ।

यस वर्षको अक्टोबरमा इमरान र बुशरा बीबीले सबै आरोपहरू अस्वीकार गरी यो पाकिस्तानी प्रधानमन्त्रीलाई राजनीतिबाट अयोग्य ठहर गर्ने मनगढन्त र राजनीतिक प्रतिशोध भएको बताएका थिए ।

डनका अनुसार पीटीआई संस्थापकले नीतिअनुसार उचित प्रक्रियाको पालना गरेको र प्रधानमन्त्री कार्यालय प्रोटोकल खण्डमा रिपोर्ट गरिएको, मूल्यांकन गरिएको र भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि कानूनी रूपमा राखिएको बताएका छन् ।