काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नवलपरासीको दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री घिसिङले शनिबार राति सडक निरीक्षण गरेका हुन् । निरीक्षण पछि उनले निर्माण कार्यलाई तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
दाउन्नेमा सडक विस्तारका क्रममा देखिएको ढिलासुस्तीको कारण बुझ्न आफैँ अनुगमनमा पुगेका मन्त्री घिसिङले निर्माणमा प्रयोग हुने मेसिनरी र मजदुर तत्काल थप्न पनि निर्देशन दिएका हुन् ।
उनले अबका दुई महिनामा यात्रु तथा गाडी सहज रूपमा सञ्चालन हुन सक्ने गरी सडक तयार गर्न निर्देशन दिए ।
दाउन्ने सडक खण्डमा लामो समयदेखि यात्रुले सास्ती खेप्दै आएका छन् । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक योजनाले झन्डै १ सय १४ किलोमिटर समेट्छ । दाउन्नेबाट पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा बाँडेर सडक विस्तारको काम भइरहेको छ ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डमा नवलपरासी बर्दघाट–सुस्तापूर्व जिल्लाको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्छ । पश्चिमी खण्डमा नवलपरासी बर्दघाट–सुस्तापश्चिमको दाउन्नेदेखि रूपन्देहीको बुटवलसम्म झन्डै ४९ किलोमिटर लामो सडक पर्छ ।




प्रतिक्रिया