काठमाण्डु – डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवसका अवसरमा काठमाण्डुको टुँडिखेलमा विषेश कार्यक्रम गरिएको छ ।
दोस्रो विश्व ध्यान दिवस २०२५ मूल समारोह समितिले टुँडिखेलमा ध्यान दिवसको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उपस्थित भएका सबैजना ध्यानमा व्यस्त थिए ।
संयुक्त राष्ट्रसंघको घोषणाअनुसार विभिन्न कार्यक्रमको आयोजना गरी विश्व ध्यान दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि ध्यान दिवस मनाइँदै आएको छ ।
राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।
गत वर्ष ७ डिसेम्बरमा संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो ।
सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि शिक्षा, विज्ञान प्रविधि मन्त्रालयको आयोजनामा यो दिवस मनाइएको हो ।
नेपाललाई विश्वकै ध्यानको राजधानीका रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ । ११ वर्षको निरन्तर प्रयासपछि राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको हो ।
सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष ७ डिसेम्बरमा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।











प्रतिक्रिया