मिराज ढुंगाना समूहले भोलि आन्दोलन थप चर्काउने

मिराज ढुंगाना समूहले भोलि आन्दोलन थप चर्काउने


काठमाण्डु– संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले गरेको प्रहरी दमनप्रति संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ ।

सोमबार मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेकोमा विज्ञप्ति जारी गरि भर्त्सना गरेको हो ।

शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाले बताए ।

संयोजक ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएका छन् र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइए पनि सामूहिक गिरफ्तारीको दबाबपछि तत्काल रिहा गर्न बाध्य हुनुले सरकारको दमनकारी प्रवृत्ति उजागर गरेको छ ।’

यसैबिच संयुक्त जेनजी आन्दोलनले मंगलबार बिहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्णमा आग्रह गरेको छ ।

संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित नहुने चेतावनी समेत दिइएको छ ।’जनताको आवाज दबाउने प्रयास इतिहासमा कहिल्यै सफल भएको छैन । न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि हाम्रो सङ्घर्ष निरन्तर रहनेछ’ विज्ञप्तिमा भनिएको छ ।