काठमाण्डु– भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।
यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो । स्थिति नियन्त्रणमा राख्न उच्च आयोग क्षेत्र वरिपरि ठूलो मात्रामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
प्रदर्शनकारीहरूले बंगलादेशी अधिकारीहरूबाट जवाफदेहिता र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । भारतीय हिन्दी बंगाली संगठन, र बजरंग दलका सदस्यहरू पनि प्रदर्शनमा सहभागी छन् । उनीहरूले ‘भारत माता की जय’, ‘युनुस सरकार होश में आओ’ र ‘हिन्दु हत्या बन्द करो’ जस्ता नारा लगाएका छन् । प्रदर्शनका क्रममा भीडले सुरक्षा बारिकेडमा धक्का दिँदा तनाव उत्पन्न भएको थियो ।
प्रदर्शनकारीहरुले बंगलादेशमा हिन्दुहरू असुरक्षित भएको दाबी गर्दै धार्मिक भावनात्मक अभिव्यक्ति दिएका थिए । यो प्रदर्शन डिसेम्बर १८ मा बंगलादेशको मयमनसिंहमा कथित धर्मनिन्दाको आरोपमा दिपु चन्द्र दासको भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो ।
भारतभर बंगलादेशमा अल्पसंख्यकविरुद्ध भइरहेको हिंसाको विरोधमा विभिन्न प्रदर्शनहरू भइरहेका छन् । यसैबीच, पश्चिम बंगाल कांग्रेस नेता आशुतोष चटर्जीले विदेश मन्त्रीले यो विषयमा पहल गर्नुपर्ने बताएका छन् । उनले भने, ‘मानवता आक्रमणमा परेको छ । हिन्दु र मुस्लिम दुवै मारिइरहेका छन र यसलाई धार्मिक रूपमा हेर्नु हुँदैन् ।’
प्रदर्शनपछि उत्पन्न सुरक्षा चिन्ताका कारण बंगलादेशले नयाँ दिल्ली र अगरतलास्थित आफ्ना दूतावास तथा वाणिज्य दूतावासमा कन्सुलर र भिसा सेवा स्थगित गरेको छ ।
बंगलादेशको विदेश मन्त्रालयले भारतस्थित आफ्ना कूटनीतिक नियोगहरूमा भएको तोडफोड र प्रदर्शनप्रति गम्भीर चासो व्यक्त गर्दै भारतीय उच्च आयुक्तलाई बोलाएर आपत्ति जनाएको छ ।
बंगलादेशले कूटनीतिक नियोगहरूमा भएको हिंसालाई निन्दा गर्दै भारत सरकारसँग गहिरो छानबिन, पुनरावृत्ति रोक्न उपाय र दूतावासहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।
यसमा डिसेम्बर २२ मा सिलिगुडीस्थित बंगलादेश भिसा केन्द्रमा भएको तोडफोड र डिसेम्बर २० मा नयाँ दिल्लीस्थित उच्चायोग बाहिरको प्रदर्शन पनि समावेश छन् ।
भारतले भने सुरक्षा कमजोरीको आरोप अस्वीकार गर्दै नयाँ दिल्लीको प्रदर्शन छोटो समयमै नियन्त्रणमा आएको र कुनै सुरक्षा खतरा नपुगेको स्पष्ट पारेको छ । यो विवाद बंगलादेशमा हिन्दु युवकको हत्या घटनापछि उत्पन्न भएको हो, जसले त्यहाँ अल्पसंख्यकहरूको सुरक्षाबारे अन्तर्राष्ट्रिय चासो बढाएको छ ।
२७ वर्षीय दिपु चन्द्र दासलाई कथित धर्मनिन्दाको आरोपमा भीडले कुटपिट गरी हत्या गरेको र पछि उनको शव जलाइएको बताइएको छ । उक्त घटनाले व्यापक आक्रोश र निन्दा उत्पन्न गरेको छ । एएनआई




प्रतिक्रिया