जाँचबुझ आयोगले पत्र काटेपछि पूर्वमन्त्री लेखक परामर्शमा

जाँचबुझ आयोगले पत्र काटेपछि पूर्वमन्त्री लेखक परामर्शमा

देउवा र ओलीसँग छलफल


काठमाण्डु – जेनजी आन्दोलनको क्रममा भएको मावनीय र भौतिक क्षतिको विषयमा गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने निर्णय गरेपछि उनी आन्तरिक परामर्शमा जुटेका छन् ।

लेखकले पार्टीभित्र र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका हुन् । यस्तै लेखकले बयान अघि कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन् । नेता लेखकले पनि बयानबारे सल्लाह गरिरहेको बताएका छन् ।

विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।

आयोगले लेखकलाई पत्राचार गर्दै ११ पुसमा बयानका लागि बोलाएको हो । आयोगले लेखकलाई बयानका लागि बोलाए पनि उनले पत्र भने पाएका छैनन् ।

२३ भदौको जेन–जी आन्दोलनमा घातक हतियारबाट गोली चलाएर दमन हुँदा लेखक गृहमन्त्री थिए । घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले सोही दिन राजीनामा दिएका थिए ।

स्रोतका अनुसार तत्कालीन ओलीले बयानमा नजान लेखकलाई दबाब दिइरहेका छन् । आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलगायतसँग बयान लिइसकेको छ ।