यो सरकारको मूल ध्येय निर्वाचन गराएर जिम्मेवारी हस्तान्तरण गर्ने हो : गृहमन्त्री अर्याल

यो सरकारको मूल ध्येय निर्वाचन गराएर जिम्मेवारी हस्तान्तरण गर्ने हो : गृहमन्त्री अर्याल


काठमाण्डु– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताएका छन् ।

बुधवार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताएका हुन्।

उनले भने, ‘निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुने र देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन।’

भरखरै भएको जेनजी आन्दोलनले गर्दा अहिलेका युवा पुस्तालाई यसले युवाहरुको राजनीतिमा मूल प्रवाहीकरण गरेको र अव पनि उनीहरुलाई ब्याइपास गरेर जान नसकिने धारणा मन्त्री अर्यालले राखे।

आवधिक निर्वाचन नै सुशासनको आधार भएको र ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्नु नहुने मन्त्री अर्यालले बताए।

उनका अनुसार निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ। निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको विचारसमेत उनले दोहोर्‍याए।