प्रदेशको समानुपातिक सूचीबाट १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय

प्रदेशको समानुपातिक सूचीबाट १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय


काठमाण्डु – नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनका लागि विभिन्न प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएको बन्द सूचीबाट १९ जनाको नाम हटाउने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बन्द सूचीमा रहेका १९ उम्मेदवारहरूको नाम हटाउने निर्णय गरेको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सभाको सूचीमा रहेका केही व्यक्तिहरू संघीय समानुपातिक सूचीमा समावेश हुन चाहेकाले सूची फेरबदल गरिएको बताए । ‘कार्यसम्पादन समितिको बैठकले प्रदेश सभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाएर संघीय समानुपातिकमा जान चाहनेहरूको सूची पारित गरेको छ,’ प्रवक्ता महतले भने, ‘पार्टीको निर्णयलाई हामी छिट्टै निर्वाचन आयोगमा बुझाउनेछौं ।’

यसैबीच, कांग्रेस कार्यसम्पादन समितिको बैठक बिहीबार पनि बस्ने भएको छ । भोलिको बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशनको कार्यतालिका लगायतका सांगठनिक र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।