बहुदरमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बहुदरमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मत सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार बहुदरमाई नगरपालिका–२ अन्तर्गत बैरिया क्षेत्रको सडक मर्मत तथा कालोपत्रे कार्यका लागि आर्थिक वर्ष २०७९/८० मा स्वीकृत योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन विपरीत ठेक्का सूचना लुकाइएको पाइएको छ । ठेक्का सूचना राष्ट्रिय वा स्थानीयस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्ने भए पनि नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्र कुमार साह र जनप्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहको मिलेमतोमा सूचना सार्वजनिक नगरी ठेक्का प्रक्रिया अघि बढाइएको आयोगको ठहर छ ।

अनुसन्धानका क्रममा जनप्रतिबिम्ब दैनिकको मिति २०८०/१२/२५ को पत्रिकामा ठेक्का सम्बन्धी सूचना प्रकाशित नै नगरी झूटा बिल तथा भरपाई बनाएर ६५ हजार भुक्तानी लिएको प्रमाणित भएको आयोगले जनाएको छ ।

प्रेस काउन्सिल नेपालबाट प्राप्त कागजातअनुसार उक्त मितिको पत्रिकाको पहिलो पृष्ठमा कुनै पनि ठेक्का सूचना प्रकाशित नभएको पाइएको छ ।

आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसारको कसूर ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा र सहलेखापाल उपेन्द्र कुमार साहविरुद्ध ६५ हजार बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी लिएको छ ।

जनप्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजय कुमार साहविरुद्ध मुख्य कसूरदारलाई सहयोग गरेको मतियारको कसूरमा सोही ऐनअनुसार मुख्य कसूरदारसरह सजाय र बिगो असुल उपरको मागदाबी गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जनाएका छन् ।