काठमाण्डु – निर्वाचन आयोगले आगामी माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ ।
आयोगले आगामी २०८२ माघ ११ गते हुने निर्वाचन प्रयोजनका लागि कुल २ हजार ४३ जना मतदाताको नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
स्वीकृत नामावलीअनुसार निर्वाचनमा सातै प्रदेशका कुल ५४५ जना प्रदेशसभा सदस्य र स्थानीय तह (गाउँपालिका र नगरपालिका) का १ हजार ४९८ जना प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्न पाउनेछन् ।
केही कानूनी र प्राविधिक कारणले १३ जना जनप्रतिनिधिहरूको नाम प्रारम्भिक सूचीमा समावेश गरिएको छैन । जसमध्ये अदालतको आदेशबाट पदमुक्त भएका १ जना र निलम्बनमा परेका ४ जना गरी ५ प्रदेशसभा सदस्य रहेका छन् । निधन भएका १ जना र निलम्बनमा रहेका ७ जना गरी ८ स्थानीय तहका पदाधिकारीलाई पनि मतदाता नामावलीमा राखिएको छैन ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार आयोगले २०८२ कात्तिक ३० गते सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार नै मतदाता नामावली सम्बन्धी अन्य प्रक्रियाहरू अगाडि बढ्नेछन् । तालिकाअनुसार दाबी विरोध र संशोधनको प्रक्रिया पूरा गरी आगामी २०८२ पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
निर्वाचनमा मतदान गर्ने २ तहका जनप्रतिनिधिहरूको मतभार फरक–फरक रहने व्यवस्था छ । आयोगका अनुसार १ जना प्रदेश सभा सदस्यले खसालेको मतको भार ५३ गणना हुनेछ भने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १ मतको भार १९ हुनेछ । मतदाताहरूले आयोगको आधिकारिक वेबसाइटमा गएर प्रारम्भिक नामावली हेर्न सक्ने जनाइएको छ ।





प्रतिक्रिया