कांग्रेस महाधिवेशन गर्नैपर्ने महामन्त्री गगनको अडान

कांग्रेस महाधिवेशन गर्नैपर्ने महामन्त्री गगनको अडान


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी महाधिवेशन गर्नैपर्ने अडान लिएका छन् ।

बुधबार कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशनको नाममा गरिने छलछामले पार्टीलाई गम्भीर क्षति पुग्ने टिप्पणी गरे ।

वडा र क्षेत्रीय अधिवेशनपछि केन्द्रीय महाधिवेशनमा जानुको कुनै विकल्प नरहेको उनले बताए । उनका अनुसार कांग्रेसले अनावश्यक विवादमा अल्झिँदै धेरै समय खेर फालिसकेको छ र अब थप आलटाल सह्य नहुने अवस्था आएको छ ।

उनले भने, ‘अब फेरि समय खेर फाल्ने कुरा हुँदैन । यदि यसैगरी महाधिवेशन नगर्ने प्रयास गरिन्छ भने विकल्प खुला छन् । विधानअनुसार विशेष महाधिवेशन गर्ने माग साथीहरूले राख्नुभएको छ ।’

महामन्त्री थापाले कार्यतालिका सार्वजनिक भए पनि अहिलेसम्म महाधिवेशनका लागि आवश्यक तयारीका काम अघि नबढेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले नियमित महाधिवेशन हुने झिनो आशमा नयाँ नेतृत्व चयन नगरी पार्टीलाई निर्वाचनमा लैजान नसकिने बताए ।

पार्टीलाई मजबुत बनाउने र आगामी राजनीतिक चुनौती सामना गर्न नयाँ नेतृत्व अनिवार्य भएकाले महाधिवेशन टार्ने कुनै कारण नदेखिने उनले बताएका छन् ।