काठमाण्डु – राष्ट्रिय सभाका १८ सिटका लागि हुने मतदानमा दुई हजार ४३ प्रारम्भिक मतदाता रहेको छ ।
राष्ट्रिय सभा निर्वाचन ११ माघमा हुँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि दुई हजार ४३ प्रारम्भिक मतदाता कायम गरेको छ ।
प्रारम्भिक नामावलीमा जाँचबुझ गरी २२ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यसूची छ । फागुन २० मा रिक्त हुने १९ मध्ये एक सिटमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
आयोगले निर्वाचनका लागि प्रकाशन गरेको प्रारम्भिक मतदाता नामावलीमा प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा दुई हजार ४३ जना छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
प्रवक्ता नारायण भट्टराईका अनुसार उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।
आयोगका अनुसार स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यमध्ये अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी जम्मा आठ जना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।




प्रतिक्रिया