काठमाण्डु– नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले २८ पुसभित्र विशेष महाधिवेशन हुनैपर्ने मागसहित केन्द्रीय कार्यालयमा स्मरणपत्र बुझाएका छन् ।
उनीहरुले शुक्रबार कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ गरिएको स्मरणपत्र बुझाएका हुन् ।
स्मरणपत्रमा माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन हुनैपर्ने उल्लेख गरिएको छ ।
स्मरणपत्रमा भनिएको छ, ‘हामी पुन: स्पष्ट पार्न चाहान्छौं, विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । विधानले तोकेको समयसीमा ‘तीन महिना’ अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्छ ।’
स्मरणपत्र बुझ्दै महामन्त्री थापाले नियमित महाधिवेशन नहुने भएपछि विशेष महाधिवेशनमा जानुको अर्को विकल्प नरहेको बताए ।
‘विशिष्ट कारण देखाएर विशेष महाधिवेशन अनिवार्य गरिनुपर्छ । हस्ताक्षरअनुसार पुस मसान्तसम्मको अवधि अर्थात् तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यकारीको थियो’, थापाले भने, ‘नियमित महाधिवेशन नहुने भएपछि अब विशेष महाधिवेशनमा जानुको अर्को विकल्प छैन ।’
थापाले विशेष महाधिवेशन पुस मसान्तसम्म गर्नु केन्द्रीय कार्यसमिति र कार्यवाहक सभापति पूर्णबहादुर थापाको अनिवार्य जिम्मेवारी भएको बताए ।




प्रतिक्रिया