काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूसग शनिबार छलफल गर्दैछिन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो ।
त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग निर्वाचन केन्द्रित छलफल गर्न लागेकी हुन् ।प्रधानमन्त्री र तीन दलका शीर्ष नेताहरूबीच छलफल दिउँसो ४ बजे हुनेछ ।
शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।
यस्तै मन्त्री खरेलसहित कानुन मन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनमा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन र दलका नेताहरूसँग कुराकानी गरेका थिए ।
सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी नेकपा एमालेले यसबारे प्रश्न उठाइरहेका बेला सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागेका हुन् ।




प्रतिक्रिया