रास्वपालाई वैकल्पिक शक्ति बनाउने विषयमा छलफल, आजै सहमति हुने सम्भावना

रास्वपालाई वैकल्पिक शक्ति बनाउने विषयमा छलफल, आजै सहमति हुने सम्भावना


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने सम्भावना रहेको छ।

वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन रास्वपाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राख्दै मेयर शाहले सभापति लामिछानेलाई लचिलो बन्न र सबैलाई समेट्न आग्रह गरेपछि अहिले कार्यदल तहमा छलफल भइरहेको छ।

स्रोतका अनुसार रास्वपा सभापति लामिछाने बालेन शाहलाई प्रधानमन्त्री तथा रास्वपामा सह-सभापति बनाउने प्रस्तावमा सहमत भइसकेका छन्। दुवै नेताबीच रास्वपालाई नै वैकल्पिक शक्तिको केन्द्र बनाउने सहमति छ। पार्टीको नाम ‘रास्वपा’ र चुनाव चिन्ह ‘घण्टी’ नै रहने विषयमा पनि सहमति भइसकेको छ। तर वैकल्पिक शक्तिमा अन्य नेताहरूलाई कसरी समेट्ने भन्ने विषयमा भने कार्यदल तहमा छलफल जारी छ।

यसका लागि हर्क साम्पाङ, ज्ञानेन्द्र शाही, अमरेश सिंह, बाबुराम भट्टराईदेखि गोपी हमालसम्मसँग छलफल भइरहेको बताइएको छ।

रास्वपाको तर्फबाट शिशिर खनाल, असिम शाह र स्वर्णिम वाग्ले तथा बालेन शाहको टिमबाट कुमार वेन, भूपदेश शाह र सुदिप ढकालले प्राविधिक विषयमा छलफल गरिरहेका छन्। उनीहरूले शुक्रबार सहमतिका खाकाबारे छलफल गरेका थिए। कार्यदलका सदस्यहरूले सोही दिन बालेन शाह र रवि लामिछानेलाई ब्रिफिङसमेत गरेका थिए। तर दुवै नेता आन्तरिक कार्यक्रममा व्यस्त रहेकाले सहमति तत्काल मूर्त रूप लिन सकेन।

लामिछाने र शाहबीच शनिबार निर्णायक छलफल हुने तयारी गरिएको स्रोतले जनाएको छ।

यसैबीच, बालेन शाहका राजनीतिक सल्लाहकार कुमार वेनले ‘उज्यालो नेपाल’का नेता कुलमान घिसिङलाई पनि रास्वपामा ल्याउने विषयमा छलफल गरिरहेका छन्। मेयर शाहले समेत बिहीबार घिसिङसँग छलफल गरेका थिए। उनलाई वरिष्ठ नेताको हैसियतमा रास्वपाभित्र भित्र्याउने तयारी भइरहेको बताइएको छ।