जेन जी अगुवा भावना राउत भन्छिन्-निर्वाचन प्रणालीमा सुधार नभए रवि, बालेन र कुलमान मिल्नु अर्थहीन हुन्छ

जेन जी अगुवा भावना राउत भन्छिन्-निर्वाचन प्रणालीमा सुधार नभए रवि, बालेन र कुलमान मिल्नु अर्थहीन हुन्छ


काठमाण्डु – जेन–जी अगुवा भावना राउतले विद्यमान निर्वाचन प्रणालीमा सुधार नभएसम्म अपेक्षित परिवर्तन सम्भव नहुने बताएकी छन् ।

वर्तमान राजनीतिक बहसमा उठिरहेको ‘मत क्रान्ति’को नाराप्रति प्रश्न उठाउँदै उनले अहिले रहेको निर्वाचन प्रणालीमा सुधार हुनुपर्नेमा जोड दिएकी हुन् ।

उनले बालेन्द्र साह, रवि लामिछाने र कुलमान घिसिङजस्ता व्यक्तित्वहरू एक ठाउँमा आउनु सकारात्मक भए पनि त्यो मात्रै क्रान्ति नभएको स्पष्ट बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेही छिन्, ‘मत दिन चाहने ठूलो जनसमूह विभिन्न कारणले निर्वाचन प्रक्रियाबाटै वञ्चित भइरहेको अवस्थामा राजनीतिक मिलनले मात्र प्रणालीगत परिवर्तन ल्याउन सक्दैन ।’

‘यो पुस्ता मतमा लगानी गर्न चाहन्छ, तर निर्वाचनमै सहभागी हुन पाएको छैन,’ राउतले लेखकी छन्, ‘यदि त्यो तप्काले भोट हाल्नै पाएन भने, निर्वाचन परिणामबाट हामीले सोचेको जस्तो परिवर्तन हुँदैन ।’
उनले भ्रष्टाचारको सुरुवात नै निर्वाचन प्रक्रियाबाट हुने पनि टिप्पणी गरेकी छन् । दूरदराजका मतदातालाई गाडी, विमान

भाडालगायतका सुविधा उम्मेदवारले उपलब्ध गराउने र सत्तामा पुगेपछि त्यो लगानी असुल्ने प्रवृत्तिले सुशासन कमजोर बनेको उनको भनाइ छ ।

राउतले सुशासनका लागि हस्तक्षेपको सुरुवात निर्वाचनबाटै हुनुपर्ने बताउँदै बेजिल्ला मतदानको व्यवस्था तत्काल लागू गर्न माग गरेकी छन् । यसका लागि आवश्यक कानुनसम्बन्धी अध्यादेश प्रधानमन्त्री र कानुनमन्त्रीको टेबलमा रहेको उल्लेख गर्दै उनले उक्त अध्यादेश राष्ट्रपतिकहाँ पुगोस् र पारितमा ढिलाइ नहोस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् ।