काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधिसभाको चुनावअघि दल र नागरिक समाजबीच राष्ट्रिय समझदारीका लागि अपिल गरेका छन् ।
उनले चुनावअघि नै राज्यका मुख्य संरचना सुधार गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव गरेका छन् ।
थापाले देशमा देखिएका राजनीतिक र प्रशासनिक समस्या समाधानका लागि चुनाव मात्रै पर्याप्त नभएको उल्लेख गर्दै एक किसिमको राष्ट्रिय समझदारीको लागि अपिल गरेका हुन् ।
महामन्त्री थापाले शुक्रबार बिहान सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै अहिले दलरूमा देखिएको समानुपातिकको सूची निर्माण तथा नेतृत्व चयन र प्रशासनिक क्षेत्रमा देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक परिषद्का समस्या उजार गर्दै ती समस्या समाधानका लागि चुनाव र नयाँ बन्ने सरकार मात्रै पर्याप्त नभएकोले दल र नागरिक समाज बसेर छलफलपछि एकखालको राष्ट्रिय समझदारी गर्नुपर्ने जोड दिए ।
थापाले भने, ‘पार्टीहरूभन्दा बाहिर रहेर जसले सेप्टेम्बर ८ र ९ मा व्यक्त भएको गभर्मेन्स सुधार गर्ने, क्रप्सन कन्ट्रोल गर्ने र रिफर्म हुने कुराहरूको मर्मलाई बोकिरहुनुभएको छ तपाईंहरूले अलिकति मेहनत गर्दिनुपर्ने भएको छ । फरक–फरक पोलिटिकल पार्टीहरूलाई एकठाउँमा ल्याउने, नयाँ पुरानो सबैलाई । हाम्रोबीच पहिले २०६२/०६३ को आन्दोलनभन्दा अगाडि गरेको जस्तै समझदारी गर्ने । भोलि इलेक्सनपछि आउने पार्लेमेन्टले गभर्मेन्ट बनाउँछ, र हामी जोसुकै पार्लेमेन्टमा आयौँ भने पनि हामी सबै मिलेर कम्तिमा यी विषयमा सुधार गर्छौं । कन्सिस्युसनका ठूलो–ठूलो कुराहरू, हामी कहिलेकाहीँ साशकीय स्वरूप भन्छौँ निर्वाचन प्रणाली ओभरल कुराको सन्दर्भमा ।’
उनले आ–आफ्ना मतहरूलाई छोडेर भ्रष्टाचार र सरकारलगायतका विषयमा गर्नुपर्ने संस्थागत सुधारका सन्दर्भमा– विधानमा के–के कुरा बदल्नुपर्ने हो ? कानुनमा के–के कुराहरू बदल्ने हो ? संविधान संशोधन के–के गर्ने हो ? यो कुरामा सबैले समझदारी गर्न सकिने बताए ।
थापाले अगाडि भने, ‘त्यसो भयो भने २०८२ पछि आउने सरकारले संविधान पनि संशोधन गर्छ, कानुन पनि संशोधन गर्छ, नयाँ कुराहरू बनाउँछ । अनि त्यसपछि सेप्टेम्बर ८ र ९ को सहादतको अर्थ हुन्छ ।’ उनले अब आउने सरकारले राम्रो वा नराम्रो जे गरे पनि समझदारीमा भएका कुरा सुनिश्चित हुने दाबी गरे ।




प्रतिक्रिया