कलैया- मधेशको राजनीति अब पुरानै नेतृत्व र आश्वासनको भरमा अघि बढ्न नसक्ने भन्दै वक्ताहरूले नयाँ पुस्तालाई नेतृत्व लिन आह्वान गरेका छन्। मधेश आन्दोलनबाट स्थापित राजनीतिक उपलब्धि संरक्षण गर्दै अधुरा मुद्दा सम्बोधन गर्न युवा पुस्ता आफैँ अघि सर्नुपर्ने उनीहरूको निष्कर्ष छ।
बाराको कलैयास्थित करण राज प्यालेसमा शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा भएको ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रियामा वक्ताहरूले पुराना मधेशी दल तथा नेतृत्वप्रति जनताको भरोसा कमजोर हुँदै गएको टिप्पणी गरे।
उनीहरूले मधेशको आगामी राजनीतिक दिशा सामाजिक न्याय, सुशासन र विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए। सामाजिक अभियन्ता सञ्जय यादवको नेतृत्वमा आयोजित कार्यक्रममा मधेश आन्दोलनको इतिहास, उपलब्धि, चुनौती र आगामी राजनीतिक तथा सामाजिक दिशाबारे छलफल भएको थियो।
नागरिक अगुवा उमेशलाल दासले वर्तमान सरकारले मधेशका एजेण्डा सम्बोधन नगरे युवाले अरूको मुख ताकेर बस्न नहुने बताए। मधेशका मुद्दा स्थापित गर्न युवा पुस्ता आफैँ नेतृत्वदायी भूमिकामा आउनुपर्ने उनको भनाइ थियो।
मधेश प्रदेशका पूर्वसांसद विक्की यादवले मधेशको विकल्प मधेश नै भएको उल्लेख गर्दै ओली सरकार र वर्तमान बालेन सरकारबाट मधेशले पाउने परिणाममा खासै फरक नरहेको टिप्पणी गरे। मधेशी युवाले आ–आफ्नो ठाउँबाट नेतृत्व लिनुपर्ने र मधेशी राजनीतिमा पुस्तान्तरण हुनुपर्ने उनले बताए।
सामाजिक अभियन्ता एवं अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि देशको राजनीतिमा परिवर्तन आएको र पुराना राजनीतिक दल तथा नेतृत्वको विश्वसनीयता कमजोर भएको बताए। मधेशका माग सम्बोधन गराउन युवाले सरकारमाथि दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। माग पूरा नभए संगठित रूपमा नयाँ पुस्ताले मधेशको नेतृत्व लिनुपर्ने उनले बताए।
गुप्ताले मधेशी युवाले राजनीतिलाई पुनर्जीवित, पुनर्गठित र पुनर्परिभाषित गर्न संगठित प्रयास गर्नुपर्नेमा जोड दिए।
अभियन्ता ओमप्रकाश चौधरीले मधेशलाई आधार क्षेत्र बनाएको नेपाली कांग्रेसको महाधिवेशनमा समेत मधेशी, जनजाति तथा दलित समुदायका व्यक्तिले खुला प्रतिस्पर्धामा उम्मेदवारी दिन र जित्न साहस गर्न नसकेको टिप्पणी गरे। मधेशको राजनीति मधेशीले नै गर्नुपर्ने भन्दै उनले पुराना नेताको विकल्पमा नयाँ अनुहारलाई प्रोत्साहन गर्नुपर्ने बताए।
स्थानीय महिला नेतृ हिरमति कुशवाहाले मधेशमा स्वच्छ छवि भएका नेतृत्वको आवश्यकता रहेको बताउँदै युवालाई राजनीतिमा अगाडि आउन आग्रह गरिन्।
सामाजिक अभियन्ता सौरभ चौगाईंले जनसंख्याका आधारमा ठूलो हिस्सा ओगटेको मधेशमा शिक्षक, चिकित्सक र इन्जिनियर उत्पादन भए पनि गुणस्तरीय विद्यालय, मेडिकल कलेज तथा इन्जिनियरिङ कलेजको अभाव रहेकोप्रति चिन्ता व्यक्त गरे। नयाँ पुस्ताले नेतृत्व लिएर सामाजिक न्याय, सुशासन र विकासलाई मधेशको आगामी राजनीतिक एजेण्डा बनाउनुपर्ने उनले बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले मधेश आन्दोलनका क्रममा सयौँले बलिदानी दिए पनि शहीदका सपना अझै पूरा हुन नसकेको बताए। शहीद हिफाजत मियाँ अन्सारीकी श्रीमती शोभा राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहीद परिवारका आमा–बुवा तथा अन्य सदस्यलाई गम्छा ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा राजेश पटेल, सनी जयसवाल, अधिवक्ता प्रेम चौधरी, रामचन्द्र चौधरी, प्रभु पटेल, राधिका न्यौपाने, श्याम गुप्ता र जगत कुशवाहालगायतले धारणा राखेका थिए।
वक्ताहरूले मधेश आन्दोलनको जगमा स्थापित संघीयता कमजोर पार्ने प्रयास भइरहेको भन्दै मधेशी जनता सचेत हुनुपर्ने बताए।
भारतसँगको रोटीबेटी सम्बन्ध हुँदाहुँदै सीमावर्ती नाकाबाट सामान्य खाद्यान्नसमेत ल्याउँदा सर्वसाधारणले दुःख र सास्ती भोग्नुपरेको विषय पनि उनीहरूले उठाए। राज्यका विभिन्न प्रतिबन्धले सीमावर्ती क्षेत्रको जनजीवन प्रभावित भएको उनीहरूको भनाइ थियो।
त्यस्तै, मधेश आन्दोलनका शहीदले राज्यबाट अपेक्षित सम्मान र कदर पाउन नसकेको तथा मधेश प्रदेश सरकारले समेत उनीहरूको बलिदानीको सम्मान गर्न नसकेको भन्दै वक्ताहरूले असन्तुष्टि व्यक्त गरे।
पुराना मधेशी दल तथा नेतृत्वप्रति जनताको भरोसा कमजोर हुँदै गएको अवस्थामा नयाँ पुस्ता संगठित भएर नेतृत्वमा आउनुपर्ने उनीहरूको निष्कर्ष थियो।


प्रतिक्रिया