पार्टी जोगाउन कांग्रेसका २५ नेताहरूले गरे सभापति देउवालाई आग्रह

पार्टी जोगाउन कांग्रेसका २५ नेताहरूले गरे सभापति देउवालाई आग्रह

विभाजन नहोस् देउवाको चाहना : नेतृ भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनले पार्टी विभाजनमा जान सक्ने चेतावनी दिएका छन् ।

उनीहरूले विशेष महाधिवेशन भए पार्टी विभाजन हुन सक्ने भन्दै जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शुक्रबार बिहान सभापति देउवालाई भेट्न उनको निवास महाराजगञ्ज पुगेका केन्द्रीय सदस्हरूले पार्टी जोगाउन देउवालाई आग्रह गरे ।

उनीहरू कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गर्दै आइरहेका संस्थापन पक्षीय नेता हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनको मिति घोषणा गरेपछि कांग्रेसको विवाद चुलिएको हो ।

पार्टी भित्र विवाद बढेपछि २५ जना केन्द्रीय सदस्यहरूले सभापति देउवासँग छलफल गरेका हुन् ।

उनीहरूले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यता टुंग्याएर वडा तहको अधिवेशन सुरु गर्नुपर्नेमा पनि जोड दिएको नेतृ पुष्पा भुसालले बताइन् ।

उनले केन्द्रीय सदस्यहरूको समूहले सभापति देउवालाई अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको भन्दै सभापतिले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताइन् ।

‘विशेष महाधिवेशन एउटा पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिममा पुगेको छ,’ नेतृ भुसालले भनिन्, ‘त्यसैले यो पार्टीको अभिभावकको नाताले पार्टी जोगाउनुस् भनेर हामीले सभापतिज्यूलाई आग्रह गरेका छौँ ।’

उनले सभापति देउवासँग आफूहरूले पार्टीलाई निकास दिन र विभाजनमा जान नदिनका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको पनि बताइन् ।

उनीहरूले कांग्रेसमा दुई ‘पोल’ बनाएर समन्वयात्मक भूमिका निर्वाह गर्न खोज्नेहरूमाथि प्रहार गर्न थालिएको गुनासो समेत देउवासँग गरेका थिए ।