काठमाण्डु – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका नेताहरूको दिल्ली दौड बाक्लिएको छ ।
निर्वाचन आउन झन्डै दुई महिना बाँकी रहँदा विभिन्न दलका नेताहरू एकपछि अर्को गर्दै भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा गएका छन् ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराईले पहिलो पटक दिल्ली भ्रमण गरेका थिए । उनीपछि अहिलेसम्म चार जना नेताहरू दिल्ली पुगिसकेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले दुईदिने भारत भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए । उनले मुम्बईमा आईआईटी बम्बईको ‘टेकफेस्ट’ मा अतिथिका रूपमा प्रवचन दिएका थिए भने दिल्लीमा भारतका पूर्वराजदूतहरूले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए ।
दिल्लीमा रहँदा भट्टराईले भारतीय उच्च अधिकारीहरूसँग अनौपचारिक कुराकानीसमेत गरेका थिए ।
भट्टराई भारतबाट फर्किएलगत्तै नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईदिने दिल्ली भ्रमण गरे । आइतबार दिल्ली गएका उनी सोमबार राति नेपाल फर्किएका थिए ।
प्रचण्ड दिल्लीमा रहँदै गर्दा कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि दिल्ली पुगिन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति स्वर्णिम वाग्ले पनि बिहीबार दिल्ली गएका छन् । उनीसँगै नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेल र पूर्वराजदूत विजयकान्त लालकर्ण पनि दिल्ली पुगेका छन् ।
उनीहरू ‘जेन–जी आन्दोलनपछि नेपाल–भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । उक्त अन्तरक्रिया भारतीय संस्थापन नजिकका दुई थिंक ट्याङ्क विवेकानन्द इन्टरनेसनल फाउन्डेसन र नेटस्ट्र्याट (सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एन्ड सेक्युरिटी इस्युज) ले संयुक्त रूपमा आयोजना गर्दैछन् ।
यता, प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी पनि उपचारका लागि दिल्ली पुगेका छन् । सुवेदीसँगै प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठ पनि दिल्ली गएका छन् ।
नेकपा संयोजक प्रचण्ड पार्टीको प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन दिल्ली गएको भनिए पनि उनी भारतीय शक्तिकेन्द्रसँगको छलफलमा बढी केन्द्रित भएका थिए । दिल्लीमा औपचारिक कार्यक्रम सकेपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । प्रचण्ड–डोभाल भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
डोभाल प्रचण्ड बसेको होटल ताज मानसिंहमै पुगेर भेटवार्ता गरेका थिए ।
यसअघि २०७९ को आम निर्वाचनअघि पनि प्रचण्डले पूर्वप्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गरेका थिए । त्यतिबेला उनले सुरक्षा सल्लाहकार डोभालसहित विदेशमन्त्री एस। जयशंकर, तत्कालीन विदेश सचिव विनयमोहन क्वात्रा तथा भाजपाका तत्कालीन अध्यक्ष जे.पी. नड्डालगायतसँग भेटवार्ता गरेका थिए ।
दिल्ली प्रस्थान गर्ने दिन आइतबार संयोजक प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए ।
कांग्रेस नेतृ राणाको दिल्ली भ्रमणबारे भने स्पष्ट रूपमा सार्वजनिक गरिएको छैन । उनी नियमित स्वास्थ्य उपचारका लागि गएको बताइए पनि कांग्रेस सभापति शेरबहादुर देउवाको प्रतिनिधिका रूपमा दिल्ली पुगेको दाबी पनि गरिएको छ । साथै, उनले त्यहाँ राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।




प्रतिक्रिया