काठमाण्डु – नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरहरूले कांग्रेस केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरूलाई काठमाण्डु नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रूपमा खारेज गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।
उनले भने, ‘नेपाली कांग्रेसको हिजो केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको जुन फरमान छ, त्यसलाई नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रूपमा खारेज गर्ने कुरा यही पत्रकार सम्मेलनमार्फत घोषणा गर्दछौं ।’
उनले विगतमा राजाले दिएको आदेश नमानेका हामी विधानसम्मत तरिकाले, विधानको पालना होस् भन्दैगर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने त्यो आदेशलाई नमान्ने पनि बताए ।
उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिवले जारी गरेको जुन फरमान वा आदेश छ, पहिला राजाको समयमा त राजाले दिएको आदेश नमानेको आज विधानसम्मत तरिकाले, विधानको पालना होस् भन्दै गर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई हामी यहीबाट खारेज गर्छौं ।’
विशेष महाधिवेशनका सन्दर्भमा सदस्यहरूको क्रियाशीलता देखेर, आत्तिएर पटक–पटक तर्साउन सकिन्छ भनेर वक्तव्यबाजी र विज्ञप्तिबाजी भइरहेको भन्दै त्यसैको निरन्तरता स्वरूप आज पनि कार्यसम्पादन समितिको बैठक बोलाएको पनि उनको भनाइ छ ।




प्रतिक्रिया