खेलकुद मन्त्री गुप्ताको अमेरिका भ्रमण विवादमा एनआरएनए अमेरिकाले भन्यो-आमन्त्रण गरिएको छैन

खेलकुद मन्त्री गुप्ताको अमेरिका भ्रमण विवादमा एनआरएनए अमेरिकाले भन्यो-आमन्त्रण गरिएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रस्तावित अमेरिका भ्रमण विवादमा परेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्ले नेपाल सरकारका मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ । एनआरएनए अमेरिकाले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारका मन्त्री सहभागी हुने कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नगरिएको प्रस्ट पारेको छ ।

एनआरएनए अमेरिका प्रवक्ता सन्देश उप्रेतीले जारी गरेको विज्ञप्तिमा विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी गतिविधिबारे अमेरिकी होमल्याण्ड सेकुरेटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइसकिएको उल्लेख छ ।

यसअघि मन्त्री बब्लु गुप्ताले अमेरिकाको कार्यक्रममा सहभागि हुनभन्दै मन्त्रिपरिषदबाट स्वीकृती लिएका थिए ।

पुस २१ गतेको मन्त्रिपरिषद बैठकले अमेरिकामा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन दि डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुशन’सम्बन्धी कार्यक्रममा सहभागि हुन मन्त्री गुप्तालाई स्वीकृती दिएको थियो ।

तर मन्त्री गुप्ता मन्त्रिपरिषदबाट स्वीकृति लिएबमोजिम अमेरिकामा कुनै पनि कार्यक्रम नरहेको खुलासा भएको छ ।