यतिबेला नेपालमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका कारण सबैजसो राजनीतिक दलहरू उथलपुथलको अवस्थामा पुगेका छन् ।
यही परिस्थितिमा दलहरू पार्टी एकता, आन्तरिक शक्ति सन्तुलन र महाधिवेशनतर्फ केन्द्रित भएका छन् ।
फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सरकार आफ्नो हातमा पार्ने होडबाजी तीव्र बन्दै गएको छ । एकातिर जनता नयाँ अनुहार र वास्तविक विकासको अपेक्षा गरिरहेका छन् भने अर्कातिर परम्परागत दलहरू एमाले, कांग्रेस, रास्वपा, नेपाली कम्युनिष्ट पार्टीलगायत फेरि पनि सत्तामा आउने दाबीका साथ सक्रिय देखिन्छन् ।
नेताहरूको व्यवहार भने अझै पनि विवादरहित छैन । कतिपय नेताहरू आफ्नो विगतका गल्ती स्वीकार नगरी पुनः सत्तामा पुग्नैपर्ने सोचमा छन् भने केहीले जेनजी आन्दोलनबाट ठूलो पाठ सिकेको दाबी गर्दै अब फरक ढंगले देश चलाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । तर यस्ता प्रतिबद्धता धेरैजसो भाषणमै सीमित हुने गरेको अनुभव जनतासँग छ । चुनाव नजिकिँदै जाँदा मात्र जनताका कुरा सुन्ने, हात जोड्ने र आश्वासन बाँड्ने प्रवृत्ति पुरानै रोगका रूपमा दोहोरिएको देखिन्छ ।
चुनाव आउनु दुई महिना अघिदेखि मात्रै नेताहरू गाउँ गाउँ पुगेर जनताको अत्यधिक माया देखाउन थाल्छन् । भोट माग्न विभिन्न बहाना अपनाइन्छ, पैसा बाँडिन्छ, लोभ देखाइन्छ र प्रविधिका नाममा भोट किन्ने काम गरिन्छ । तर एकपटक चुनाव जितेपछि जनतालाई बिर्सने, विकासका कुरा ओझेलमा पार्ने र सत्ता तथा शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति निरन्तर दोहोरिँदै आएको छ । यही कारण जनतामा गहिरो निराशा र अविश्वास बढ्दै गएको छ ।
आजको यथार्थ के हो भने नेपालमा करिब पाँच प्रतिशत मात्र मानिस सचेत रूपमा राजनीति बुझेर सत्तामा पुग्ने प्रयास गर्छन् । बाँकी धेरैजसो अवस्थामा माइक अगाडि चिल्ला भाषण गर्ने, भावनामा खेल्ने र जनताको आँखामा छारो हाल्ने व्यक्ति नै राजनीतिमा हाबी हुन्छन् । दस वर्षअघि सुरु भएका विकासका योजना अझै पनि पूरा नभएको अवस्था छ, जसले राजनीतिक असक्षमता र नेतृत्वको गैरजिम्मेवारी स्पष्ट देखाउँछ ।
सबैभन्दा चिन्ताजनक पक्ष भनेको पैसाको प्रभाव हो । अहिले जससँग धेरै पैसा छ, उसैले चुनाव जित्ने अवस्था सिर्जना भएको छ । पैसा बाँडेर भोट जित्ने प्रवृत्तिले शिक्षित, इमानदार र क्षमतावान व्यक्तिहरू राजनीतिबाट पछाडि पर्दै गएका छन् । अब आउने निर्वाचनमा यस्तो अवस्था दोहोरिन नदिन सबै नेता, कार्यकर्ता र नागरिकले गम्भीर रूपमा सोच्न र बुझ्न जरुरी छ ।
हामीलाई भोट किन्न दिने, पैसा चाहिएको होइन, हामीलाई जिम्मेवार सरकार चाहिएको हो । युवालाई स्वदेशमै रोजगारी चाहिएको छ, गाउँ–गाउँमा समान विकास चाहिएको छ, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा चाहिएको छ ।
युवाहरू बाध्य भएर विदेशिनु नपरोस्, कसैको गुलामी बन्नु नपरोस् भन्ने नै हाम्रो चाहना हो । नेताहरूको कार्यशैली र त्यसबाट उत्पन्न जनताको निराशा बुझेर अब सचेत नागरिकको रूपमा सही निर्णय गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।




प्रतिक्रिया