सेनाको फोटो तथा बृहत् प्रदर्शनी शुभारम्भ

सेनाको फोटो तथा बृहत् प्रदर्शनी शुभारम्भ


काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ को शुभारम्भ गरेका छन् ।

आईतबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबिच नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी.– २०८२ को शुभारम्भ गरेका हुन् ।

आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको उद्घाटन कार्यक्रमबिच प्रधान सेनापतिले नेपाली सेना फोटो प्रतियोगिता २०८२ का उत्कृष्ट ३ जना गैरसैनिक फोटोग्राफरहरू, ३ वटा नेपाली सेनाका युनिटहरू र १ जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै मूल्यांकन समितिका सदस्यहरूलाई कदर पत्रद्वारा सम्मानित गरेका छन् ।

कार्यक्रमपश्चात् प्रधान सेनापति लगायत अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल ३१ वटा स्टलहरू राखिएका छन् ।

सेना दिवस–२०८२ को अवसरमा माघ ०७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा आम नागरिकलाई जङ्गी अड्डाको पश्चिम गेटबाट नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

उद्घाटन समारोहमा पूर्व प्रधानसेनापतिहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द, जनसम्पर्क तथा सूचना निर्देशनालयका पूर्व निर्देशकहरू, सैनिक सहचारीहरू, अधिकृत, सकलदर्जा, सञ्चारकर्मीहरू लगायतको उपस्थिति थियो ।