इलाम – इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भेषराज आचार्य र एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
आचार्य २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उम्मेदवार भएका थिए । त्यतिबेला उनी सुहाङका बुवा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।
इलाम २ बाट जनमुक्ति पार्टीबाट याम योङहाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशप्रसाद दुलाल, मंगोल नेसनल अर्गनाइजेसनबाट श्यामबहादुर लिम्बू, श्रम संस्कृति पार्टीको तर्फबाट सुदीप राई लगायतले उम्मेदवारी दिएका छन् ।
इलाममा विशेषगरी सुहाङ र भेषराजबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सुहाङ बुवाको विरासत जोगाउन र युवा पुस्ताको प्रतिनिधित्व गराउन मैदानमा छन् भने ४ दशकदेखि सक्रिय राजनीतिमा रहेका भेषराज पहिलो पटक संसद छिर्ने कसरतमा छन् । सुहाङ एमालेका केन्द्रीय सदस्य समेत हुन् ।
जिल्लाको पार्टी संगठनभित्र बलियो पकड बनाएका भेषराज संगठन निर्माणबाटै स्थापित नेताका रूपमा चिनिन्छन् । कहिल्यै विवादमा नआएका उनी लो प्रोफाइलमा बसेरै लामो समयदेखि राजनीति गरेका कारण यसअघि पनि उम्मेदवारका लागि केन्द्रीय नेताहरूले लामो समयसम्म लबिङ गरेका थिए ।
केन्द्रमा गगन कुमार थापा, डा. शेखर कोइराला र डा. शंशाक कोइरालासँग निकट मानिएका आचार्यले यसपटक सजिलै टिकट पाएका छन् ।




प्रतिक्रिया