काठमाण्डु – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अहिलेसम्म २ हजार ९२५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले महिला ३३६ र पुरुष २ हजार ५८९ जनाले मनोनयन दर्ता गरेको बताए ।
उनले भने, ‘अहिले हाम्रो सिस्टमा आइसकेको २ हजार ९२५ उम्मेदवारी मनोनयन दर्ता भएको सूची प्राप्त भएको छ । त्यसमा महिला ३३६ र पुरुष २ हजार ५८९ दर्ता भएको छ । समावेशी समूह अन्तर्गत अपाङ्गताको ८५ जना, पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको भनेर आएको छ, बाँकी निरन्तर अपडेट भई नै रहन्छ ।’
बिहान १०:०० बजेबाट सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएको उक्त समयभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी नै रहेको आयोगले जनाएको छ ।
आयोगले माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको जनाएको छ भने सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।




प्रतिक्रिया