निर्वाचनमा भएको उत्साहजनक मनोनयन लोकतन्त्रप्रतिको प्रगाढ विश्वास हो : प्रधानमन्त्री कार्की

निर्वाचनमा भएको उत्साहजनक मनोनयन लोकतन्त्रप्रतिको प्रगाढ विश्वास हो : प्रधानमन्त्री कार्की


काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भएको उत्साहजनक मनोनयन दर्तालाई लोकतन्त्रको महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताएकी छन् ।

मंगलबार देशवासीका नाममा विशेष सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले १६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराउनु नेपाली जनता सचेत र सक्षम भएको बलियो प्रमाण भएको बताइन् ।

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण सामर्थ्यका साथ लागिपरेको उनले स्पष्ट पारिन् । ‘सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन् ।’ उनले नागरिकहरूलाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन समेत आह्वान गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियाको उत्साहले राजनीतिक क्षेत्रमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको बताइन् । अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णत: अन्त्य भएको दाबी गर्दै उनले निर्वाचनको महाकुम्भले दीगो लोकतान्त्रिक स्थायित्व दिने विश्वास व्यक्त गरिन् ।

कार्यतालिका बमोजिम अहोरात्र खटिएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकोमा प्रधानमन्त्रीले निर्वाचन आयोगलाई सरकारका तर्फबाट विशेष धन्यवाद दिइन् । उनले राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमलाई लोकतान्त्रिक अभ्यासलाई सफल पार्न रचनात्मक भूमिका खेल्न आग्रह गरेकी छन् ।

गत भदौमा भएको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गरी नयाँ संसद्लाई सत्ता हस्तान्तरण गर्नु आफ्नो मुख्य जिम्मेवारी रहेको पुन: दोहोर्‍याएकी छन् ।