रास्वपाको ‘सांघातिक आक्रमण’मा सुनको सिक्री लुटिएको एमालेको आरोप

रास्वपाको ‘सांघातिक आक्रमण’मा सुनको सिक्री लुटिएको एमालेको आरोप


झापा – नेकपा एमाले झापा क्षेत्र नम्बर–५ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताहरूले आफ्ना नेता तथा कार्यकर्तामाथि नियोजित रूपमा आक्रमण गरेको आरोप लगाएको छ ।

मंगलबार साँझ एमाले क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् ।

एमालेका अनुसार झापा क्षेत्र नम्बर ५ का उम्मेदवार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोनयन दर्ता प्रक्रियालाई अवरोध पुर्‍याउने नियतले रास्वपा कार्यकर्ताहरूले आक्रमण गरेको हुन् । देशभर मनोनयनको उत्साह भइरहेका बेला दमकमा भएको घटनाले भयरहित निर्वाचन हुनेमा आशंका उब्जाएको एमालेको ठहर छ ।

झडपमा एमालेका ३ जना नेता तथा कार्यकर्ता घाइते भएको र आक्रमणकै क्रममा २ जनाको सुनको सिक्री समेत लुटिएको विज्ञप्तिमा दाबी गरिएको छ । एमालेले यसअघिको जेनजी विद्रोहका बेला लुटिएका हतियारहरू अझै बरामद नभएको र आपराधिक पृष्ठभूमिका व्यक्तिहरू खुला रहेको अवस्थामा यस्ता घटना हुनुलाई सुरक्षा चुनौतीका रूपमा लिएको छ ।

एमालेले आफूलाई एक जिम्मेवार दलका रूपमा संयमित रहेको बताउँदै आफ्नो संयमतालाई कमजोरी ठानिए भविष्यमा उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार रास्वपा र सरकार स्वयं हुनुपर्ने चेतावनी दिएको छ । विज्ञप्तिमार्फत समाजमा अराजकता फैलाउने दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ ।