नेपाली चलचित्र ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक


काठमाण्डु – माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार विशेष समारोहबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा अभिनेत्री विपना थापालाई अभिनेता पल शाहको आमाको भूमिकामा देख्न सकिन्छ भने बुवाको भूमिका भारतीय वरिष्ठ कलाकार प्रदीप रावतले निर्वाह गरेका छन् ।

ग्रामीण परिवेशका आमा–बाबु र सन्तानबिचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर फिल्मका निर्देशक चन्द्र पन्तले कथा बुनेका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रको मुख्य भूमिकामा रहेकी अभिनेत्री विपना थापाले चलचित्रबाट अझ धेरै कुरा सिक्ने मौका पाएको बताएकी छन् । उनले भनिन्, ‘चलचित्र आ बाट आमा माघ १६ मा प्रदर्शन हुँदैछ । आएर प्रतिक्रिया दिनुहोस् । कस्तो चलचित्र बनेको छ म भन्दिनँ आज । यो जिम्मेवारी मेरो दर्शकको हो । यो चलचित्रबाट मैले अझ धेरै कुरा सिक्ने मौका पाएको छु ।’

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता पल शाहले फिल्म दर्शकहरूलाई मन पर्नेमा आफू विश्वस्त रहेको बताए । उनले फिल्ममा राम्रो भूमिका दिएकोमा निर्माण टीमलाई समेत धन्यवाद दिएका छन् ।

उनले भने, ‘ट्रेलरबाट म अहिले पनि बाहिर निस्किन सकेको छैन । एकदमै भावुक भइरहेको छु । दर्शकहरूलाई पनि मन पर्छ भन्ने विश्वास छ, त्यहीँ भन्न चाहन्छु । कस्तो लाग्छ । प्रतिक्रिया दिनुहोला । यति राम्रो भूमिकाको लागि मलाई विश्वास गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।’

यसैगरी साइग्रेस पोखरेलले पहिलोपटक यस चलचित्रमा अभिनयमा उत्रिन पाउनु नै भाग्यको कुरा भएको बताएका छन् । उनले घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भन्ने भनाई नै यस चलचित्रमा देखाउन खोजेको भन्दै आमा शब्द धेरै नै भारी भएको बताए ।

उनले भने, ‘एउटा भनाई छ । बरु घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भन्ने । त्यसैले आमा शब्द कति भारी छ । म पहिलोपटक यस चलचित्रमा अभिनयमा उत्रिन पाउनु भाग्यको कुरा हो । आमा, भगवान् श्रीकृष्ण र भगवान् श्रीराम यो ३ वटा कुराले यो अभिनयमा मैले आफूलाई स्वीकार गरे ।’

चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको डीओपीमा नवराज उप्रेती रहेका छन् । फिल्मको संगीतकारमा कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहेका छन् । फिल्मको प्रदर्शन अधिकार भने आरआर फिल्म्सले लिएको छ भने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।