काठमाण्डु- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले वर्तमान सरकार नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई फसाउने प्रयासमा लागेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा लामो भनाइ राख्दै खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारको नेतृत्व आफैँ सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन्।
रास्वपामा केही समय आबद्ध रहेका खरेल निर्वाचनमा पराजित भएपछि पार्टीबाट अलग भएका थिए। पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर उनले रास्वपा नेतृत्व र सरकारप्रति लक्षित टिप्पणी गरेका हुन्।
खरेलले रवि लामिछानेलाई सम्बोधन गर्दै पार्टी मात्रै नभई सरकारसमेत आफैँले सम्हाल्नुपर्ने अवस्था आएको बताएका छन्। ‘रविजी, पार्टी मात्रै होइन, यो गिरोहलाई हटाएर सरकार पनि आफैँ सम्हाल्नुपर्ने अवस्था आइसकेको छ,’ उनले लेखेका छन्।
उनले दुईतिहाइको जनादेश र जेन-जी आन्दोलनपछि प्राप्त जनसमर्थनको सरकारले नै अवमूल्यन गरिरहेको आरोप लगाएका छन्। यसका लागि प्रधानमन्त्री वालेन्द्र शाह र उनको टिम जिम्मेवार रहेको उनको टिप्पणी छ।
खरेलले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै ‘बालेन, दिस इज नट डन’ भन्दै सम्बोधन गरेका छन्।
उनले लोकतन्त्रमा प्रतिपक्षको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्। सरकारलाई निरङ्कुश हुनबाट रोक्न र सत्तालाई जवाफदेही बनाउन प्रतिपक्षको बलियो उपस्थिति आवश्यक रहेको उनको भनाइ छ।
‘सत्तालाई निरङ्कुश हुनबाट रोक्ने सबैभन्दा बलियो आधार नै प्रश्न गर्न सक्ने प्रतिपक्ष हो। लोकतन्त्रमा सरकार शक्तिशाली हुनु अस्वाभाविक होइन, तर सरकारलाई खबरदारी गर्ने प्रतिपक्षको आवाज पनि उत्तिकै बलियो हुनुपर्छ,’ उनले लेखेका छन्।
यसैबीच, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता प्राप्त गर्दा १८ करोड रुपैयाँको डिल भएको भन्ने विषयलाई पनि खरेलले चिन्ताजनक रूपमा टिप्पणी गरेका छन्। उक्त विषयमा उनले थप प्रश्न उठाएका छन्।


प्रतिक्रिया