काठमाण्डु – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको अध्ययन गर्न बनेको जाँचबुझ आयोगको समय बिहीबार सकिँदैछ।
घटनाको जाँचबुझ गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको आयोगको म्याद सकिन लागेको हो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिएको थियो।
असोज ८ गते आयोगले काम थालेकामा तोकिएको तीन महिना सकिएपछि गत महिना थप एक महिना बढाइएको थियो । बढाइएको अवधिमा पनि काम नसकिएको भन्दै आयोगले थप २० दिन म्याद बढाउन आग्रह गरेको हो ।
आयोगको आग्रहमा सरकारले २० दिन म्याद थप्ने तयारी गरेको छ ।
आयोगले घटनाको विषयमा संकलन गरेको प्रतिवेदनलाई एकीकृत गरेर अन्तिम रूप दिने काम गरिरहेको छ । आयोगका अनुसार अहिलेसम्म प्रतिवेदन लेखनको काम ८० प्रतिशत सकिएको छ ।
केही दिनअघि आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रतिवेदन लेखनको काम बाँकी रहेकाले दुई साता समय थप्न आग्रह गरेको थियो। आयोगको म्याद मन्त्रिपरिषद्ले थप गर्नुपर्छ।
आयागले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घरमै गएर बयान लिएको थियो । यस्तै पूर्वगृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरु, मुख्यसचिव, सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाण्डु महानगरका तत्कालीन प्रमुख, विभिन्न जिल्लामा त्यसबेला सुरक्षामा खटिएका कमान्डर र जेनजी अभियन्ताहरूसँग पनि बयान लिएको थियो ।




प्रतिक्रिया