सशस्त्र प्रहरी दिवसमा देशभर रजत महोत्सवको रौनक, कहाँ के भयो ?

सशस्त्र प्रहरी दिवसमा देशभर रजत महोत्सवको रौनक, कहाँ के भयो ?


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले स्थापनाको २५औं वर्ष पूरा गरेको अवसरमा देशभरका आफ्ना इकाईहरूमा ‘रजत महोत्सव’ मनाइरहेको छ ।

सशस्त्र प्रहरीले व्यावसायिक दक्षता प्रदर्शन गर्नुका साथै नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन प्रभातफेरी, रक्तदान, स्वास्थ्य शिविर र सीमा क्षेत्रमा ‘झण्डा मार्च’ जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गरेको छ ।

दिवसको पूर्वसन्ध्यामा माघ ८ गते काठमाण्डुको हलचोकस्थित प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको नेतृत्वमा बृहत् प्रभातफेरी आयोजना गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरीका उच्च अधिकारी, अवकाशप्राप्त अधिकारी, परिवार महिला संघ र विद्यार्थीहरूको सहभागिता थियो ।

यसअघि माघ २ गते सशस्त्र प्रहरीको भावी रणनीति, चुनौती र भूमिकाबारे विज्ञहरू सहितको अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न भएको थियो । संगठनको मूल्य–मान्यतालाई संस्थागत गर्न ‘व्यावसायिक आधारभूत मूल्य दिवस’ सम्बन्धी प्रशिक्षण समेत सञ्चालन गरिएको थियो ।

सीमा सुरक्षाको प्रतिबद्धता र नागरिकसँगको सहकार्यलाई बलियो बनाउन सशस्त्र प्रहरीले झापाको मेची र कञ्चनपुरको गड्डाचौकीबाट ‘पूर्वपश्चिम झण्डा मार्च’ सुरु गरेको छ । मेची र महाकालीबाट सुरु भएकोे टोली माघ ११ गते पर्साको ठोरीमा भेट भई विशेष समारोहबिच समापन गरिनेछ । यसले सीमावर्ती क्षेत्रका नागरिकमा सुरक्षाको अनुभूति गराउने विश्वास लिइएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीले स्याङ्जा, सुर्खेत, कैलाली र दार्चुलाका दुर्गम क्षेत्रहरूमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी औषधि वितरण गरेको छ । रजत महोत्सवको अवसरमा झापा र दन्तकालीमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरिएको छ ।

सशस्त्र प्रहरीले समुदायमा प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यले तनहुँ र कास्कीमा ढुङ्गेधारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ । पाँचथरमा विपन्न परिवारका लागि घर निर्माण र ताप्लेजुङ कारागारमा खेलकुद सामग्री वितरण गरिएको छ ।

देशभरका विभिन्न विद्यालयहरूमा लागूऔषध दुर्व्यसनी, सीमा सुरक्षा र शीतलहरबाट बच्ने उपायबारे जनचेतनामूलक कक्षाहरू र सडक नाटकहरू प्रदर्शन गरिएका छन् । विद्यार्थीहरूका लागि निबन्ध र वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

सशस्त्र प्रहरीले आफ्ना अमर सहिदहरूको सम्मानमा झापा र कास्कीमा शिलालेख अनावरण गरी सम्मान अर्पण गरेको छ । वृद्धाश्रम र अस्पतालहरूमा खाद्यान्न तथा फलफूल वितरण गरिएको छ भने विभिन्न धार्मिक तथा सार्वजनिक स्थलहरूमा सरसफाइ अभियान चलाइएको छ ।

सञ्चारकर्मी र सशस्त्र प्रहरीका अधिकृतहरूबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता र अन्तर्क्रिया कार्यक्रम गरी सम्बन्धलाई थप प्रगाढ बनाउने प्रयास गरिएको छ । यी विविध कार्यक्रमले सशस्त्र प्रहरी बल नेपालको २५ वर्षको गौरवमय यात्रालाई झल्काउनुका साथै आगामी दिनमा थप जनमुखी र व्यावसायिक बन्ने प्रतिबद्धता जनाएको छ ।