जेनजी आन्दोलनका सहिदको शालिक निर्माण प्रगतिबारे प्रधानमन्त्री कार्कीको चासो

जेनजी आन्दोलनका सहिदको शालिक निर्माण प्रगतिबारे प्रधानमन्त्री कार्कीको चासो


काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेनजी आन्दोलनका सहिदहरूको शालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरूलाई समेत बोलाएर निर्माणाधीन संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा छलफल गरेकी हुन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री मदन परियार र शहरी विकास मन्त्री कुमार इङ्नामको सहभागिता थियो । प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, शहरी विकास सचिव गोपाल सिग्देल, कानून सचिव पाराश्वर ढुंगाना पनि छलफलमा सहभागी थिए ।

शहरी विकास सचिव सिग्देलले सालिक राख्नका लागि पहिचान गरिएका ठाउँहरू र सम्भावित डिजाइनबारे जानकारी दिँदै सुझाव तथा निर्देशनका लागि आग्रह गरेका थिए ।

प्रधानमन्त्री कार्कीले यस विषयमा ढिलो नगरी संसद् भवन निर्माण सम्बन्धी गुरुयोजना संशोधन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएका छन् ।

सरकारले आन्दोलनकारी जेनजीसँगको सम्झौताका क्रममा सहिदको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणको प्रतिबद्धता व्यक्त गरेको छ ।