काठमाण्डु– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनमा उच्च मनोवलका साथ परिचालन हुन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
शुक्रबार २५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)मा बोल्दै महानिरीक्षक अर्यालले स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण सशस्त्र प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।
सशस्त्रले प्रधान कार्यालय हल्चोकमा महानिरीक्षक अर्यालको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरि रजत महोत्सव सम्पन्न गरेको छ ।

महानिरीक्षक अर्यालले संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलामा घाइते भई उपचाररत सशस्त्र प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरू नैतिक रूपमा बलियो भएमा मात्र संगठन बलियो हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै अनुशासन, इमान्दारिता, व्यावसायिकता र कर्तव्यनिष्ठ भई आफ्नो जिम्मेवारीमा लाग्न सम्पूर्ण सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
उनले सशस्त्र प्रहरी बल, नेपालको आन्तरिक कार्यका लागि १०६ भन्दा बढी कार्यविधि, योजना, मापदण्ड, अवधारणा, स्थायी आदेश तथा प्रतिवेदन निर्माण गरी कार्यान्वयनमा ल्याइएको बताए ।

संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्तिविकासका लागि नयाँ योजना, विभिन्न समयमा गरिएका संगठन सर्वेक्षण व्यवस्थापन लागू भएसँगै १७ हजारभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरूको बढुवा भएको जानकारी दिए ।
यस्तै रजत महोत्सवको अवसरमा बेस्ट इन्टिग्रिटी पुरस्कार सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बालाई प्रदान गरिएको छ ।
यस्तै, महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरेका छन् । योसँगै उनी चौथो पटक संगठनबाट पुरस्कृत भएका छन् ।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा महानिरीक्षक अर्यालले शहिद सशस्त्र प्रहरी कर्मचारीको परिवारको सामाजिक सुरक्षा, सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिंदै आएको नगद ऋण रकममा वृद्धि , नेपाल ए.पी.एफ.अस्पतालमा पे क्यावीन सेवाको सुरुवात, किरियापुत्री सेवा, नयाँ चारपांग्रे सवारी साधन खरिद रकम बढाउने जस्ता विभिन्न कल्याणकारी कार्यक्रमहरूको घोषणा गरेका छन् ।




प्रतिक्रिया