काठमाण्डु- निर्वाचन प्रहरीको संख्या मागअनुसार आवेदन नपरेपछि केही जिल्लामा भर्ना समय थप गरिएको छ ।
मागअनुसार आवेदन नै कम परेको र आवेदकसँग लिइएको परीक्षामा कपिपय अनुत्तीर्ण भएपछि दरखास्तका लागि समय थप गरिएको छ ।
शनिबार र आइतबार दरखास्त दिन सक्ने गरी म्याद थप गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाग्लुङ, काभ्रे, सिन्धुपाल्चोक, धनकुटा, रामेछापलगायतका जिल्लामा मागभन्दा कम निर्वाचन प्रहरी उत्तीर्ण भएका छन् ।
आउँदो फागुन २१ को चुनावका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना गरी उनीहरुलाई तालिम दिने तयारी छ ।
रामेछापमा ४ सय ३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रो पटक म्यादसहित आवेदन माग गरेको जनाएको छ ।
१ हजार ३ सय ३३ जनाको लागि दरखास्त आह्वान गरेकोमा दुई पटक म्याद थप गर्दा जम्मा ९ सय जनाले मात्रै आवेदन पेश गरेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यस्तै बाग्लुङमा तीन पटक म्याद थप गर्दा पनि आवश्यक सङ्ख्यामा आवेदन आउन सकेको छैन ।
बाग्लुङमा १ हजार २ सय ९८ जना नेपाल प्रहरीतर्फ माग गरिएको थियो । तर १ हजार ४८ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
बाग्लुङमा मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक आइतबारसम्मलाई आवेदन दिन म्याद थप गरिएको हो ।
नेपाल प्रहरीतर्फ झन्डै १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । छनोट भएकालाई माघ १५ देखि तालिम दिने तयारी छ ।




प्रतिक्रिया