पश्चिमी भूभागमा हिमपात र वर्षा, मुगुमा हिउँ पन्छाउने चटारो

पश्चिमी भूभागमा हिमपात र वर्षा, मुगुमा हिउँ पन्छाउने चटारो


काठमाण्डु – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण लामो समयपछि देशका पश्चिमी भूभागमा हिमपात र वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्मको हिमपात भई अहिले भने मौसम केही खुलेको छ ।

हुम्लाको सिमिकोटमा शुक्रबार राति ९ बजेदेखि पर्न थालेको हिमपात अहिले रोकिएको छ भने आकाश आंशिक रूपमा खुलेको मौसम महाशाखाले जनाएको छ ।

लामो समयको खडेरीपछि कर्णाली प्रदेशका मुगु, डोल्पा, जुम्ला, कालिकोट र हुम्ला जिल्लामा हिमपात र वर्षा भएको हो । गत भदौ महिनादेखि पर्याप्त वर्षा नभएको मुगुमा यस वर्ष पहिलो पटक वर्षासँगै हिमपात सुरु भएको हो ।

हिमपातपछि मुगुका स्थानीयहरू हिउँ पन्छाउन व्यस्त देखिएका छन् । लामो समयसम्म हिउँ नपर्दा हिउँदे अन्नबाली, फलफूल तथा तरकारी उत्पादनमा असर पर्ने भन्दै चिन्तित किसानहरू हिमपात सुरु भएपछि खुसी भएका छन् ।

किसानका अनुसार हिमपातले जमिनमा चिस्यान बढाउने भएकाले आगामी बालीका लागि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

मुगुको तल्लो भेगमा भने निरन्तर वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा वर्षा भएपछि माथिल्लो भेगमा हिमपात हुने गरेको छ । हाल ताल्चा, घुच्ची, पिना, रावा, शोभा, सोरुकोट, रारा, बाम, खमाले, सेरी, मुगु, डोल्फु, चितही, दाउरा पुलु लगायतका क्षेत्रमा हिमपात भइरहेको छ ।

लगातारको हिमपात र चिसोका कारण जनजीवन भने कष्टकर बनेको छ । अत्यधिक चिसोका कारण यातायात, दैनिक कामकाज तथा आवतजावतमा समस्या देखिन थालेको स्थानीयले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका बाँकी पहाडी भूभागका १–२ स्थानमा समेत हल्का वर्षा हुन सक्ने जनाइएको छ ।

यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।