इनम प्रकरणमा कांग्रेसको आरोप : ‘बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’

इनम प्रकरणमा कांग्रेसको आरोप : ‘बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणलाई लिएर सरकार र प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाएकी छन्।

उनले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग भइरहेको विषय सार्वजनिक भएको दाबी गर्दै देशमा सुशासनभन्दा ‘छाडातन्त्र’ हावी हुन थालेको टिप्पणी गरेकी छन्।

संग्रौलाले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार सञ्चालन भइरहेको भए पनि आम नागरिकले सरकारको जवाफदेहिता र जिम्मेवारीबारे प्रश्न उठाउनुपर्ने अवस्था आएको बताएकी छन्।

उनले लोकतन्त्रको पहरेदारका रूपमा रहेको नेपाली कांग्रेसमाथि सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको आरोपसमेत लगाएकी छन्।

प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले यसबारे अब सरकार र सत्तारूढ दलले जवाफ दिनुपर्ने बताएकी छन्।

‘अब जवाफ दिनुपर्ने पालो सत्ता र सत्तारूढ दलको हो। कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’, उनले प्रश्न गरेकी छन्।

संग्रौलाले सत्ताले गरेका भनिएका गल्ती र विवादबारे निष्पक्ष जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै सरकारको कामकारबाहीमाथि प्रश्न उठाएकी हुन्।