विवादास्पद शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश

विवादास्पद शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश


काठमाण्डु – विवादास्पद शेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरे ।

अग्रवाल नेपालको शेयर बजारमा ‘लोकप्रिय ट्रेडर’को रूपमा चर्चित थिए । सामाजिक सञ्जाल फेसबूक, टेलिग्राममार्फत नियमित शेयर सिफारिस गर्ने, ‘यो शेयर छिट्टै दोब्बर–तेब्बर हुन्छ’ जस्ता हाइप सिर्जना गर्ने र मूल्य तोकेर ‘यति पुग्छ’ भन्ने आश्वासन दिने गरेका थिए ।

तर यो अभ्यासपछि ‘पम्प एन्ड डम्प’ शैलीको ठगी भएको आरोप लागेको थियो । उनले आफैं वा नजिकका व्यक्तिहरूमार्फत पहिले शेयर खरिद गर्ने, सामाजिक सञ्जालमा झूटा तथा भ्रामक सूचना फैलाएर मूल्य बढाउने, मूल्य उच्च भएपछि बेचेर नाफा कमाउने, साना लगानीकर्ताहरू घाटामा पार्ने गरेको आरोप छ ।

विशेषगरी जोशी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक जस्ता कम्पनीहरूको शेयरमा कृत्रिम उतारचढाव ल्याएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले छानबिन गरेको थियो । सेबोनले उनले १५ वटा टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) खाताबाट भ्रामक कारोबार गरेको पुष्टि गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत पुस ४ गते उनलाई पक्राउ गरेको थियो । विभिन्न मुद्दामा २२ करोडभन्दा बढीको ठगी तथा झूटो धितोपत्र कारोबारको आरोप लागेको थियो । पछि काठमाण्डु जिल्ला अदालतले ४९ लाख १९ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जसपा नेपालबाट केन्द्रीय सदस्य रहेका अग्रवालले एमाले प्रवेश गरेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । केहीले यसलाई व्यवसायी तथा लगानीकर्तालाई राजनीतिमा अवसर दिनु राम्रो भनेका छन् भने धेरै लगानीकर्ता तथा सर्वसाधारणले भने यसलाई ठगीको आरोप लागेका व्यक्तिलाई राजनीतिक संरक्षणको रूपमा लिएका छन् ।