कांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा

कांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा


काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन् ।

शनिबार काठमाण्डुमा भएको सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उनले विशेष महाधिवेशनमा सबैको साथ नपाएको भए पार्टीबाट निष्कासित सदस्यको रूपमा रहने उल्लेख गर्दै आफ्नो लडाइँ लड्नका लागि सजिलो बाटो छाडेको बताए ।

उनले भने, ‘मैले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ । म ५ वर्षका लागि कांग्रेसबाट भर्खरै निकालिएको थिएँ । विशेष महाधिवेशनमा साथीहरूले साथ नदिनु भएको भए आज म पार्टीबाट निष्कासित सदस्यको रूपमा तपाईंहरूको बिचमा उभिएको हुन्थें । म आफ्नो लडाइँ लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ बाँकी नियतिको हातमा छ भनेर विश्वास गर्ने मान्छे हो । त्यसकारण आफ्नो लडाइँ लडेको हो । सजिलो बाटो रोजेर सजिलो ठाँउमा बसेको होइन ।’

कांग्रेस पार्टीलाई मधेशले नै बनाएको भन्दै यसपालि आँट र जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरेको उनले बताए ।

राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुँदैन, त्यसले सिंगो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्ने भन्दै एकपटक मधेशको नेतृत्व गर्ने प्रयास गरे भने बल्ल नेपालको राष्ट्रिय नेता हुने उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुँदैन । त्यसले सिंगो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्छ । कांग्रेस पार्टीलाई मधेशले नै बनाएको हो, त्यसकारण यसपालि मैले आँट गरेर, जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरे । एकपटक मधेशको नेतृत्व गर्ने प्रयास गरे भने बल्ल म नेपालको राष्ट्रिय नेता हुन सक्छु । त्यसको लागि म जाने हो, मधेश जाने हो, त्यहीको साथीहरूसँग जाने हो, भिज्ने हो ।’