निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको मोर्चा हो : महासचिव विप्लव

निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको मोर्चा हो : महासचिव विप्लव


काठमाण्डु – नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली राजनीतिमा निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको एउटा मोर्चाका रूपमा व्याख्या गरेका छन् ।

शनिबार पार्टीद्वारा आयोजित निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव चन्दले निर्वाचन नजिकिँदै जाँदा देशभर तरंग पैदा भएको बताए ।

क्रान्तिकारी शक्तिहरू देशैभर संघर्षमा सहभागी भइरहेको र त्यसको अग्रभागमा बसेर नेतृत्व गर्ने जिम्मेवारी सबै कार्यकर्ताको भएको उनले बताए ।

उनले भने, ‘नेपाली राजनीतिमा अहिले क्रान्तिकारीहरूका सामु निर्वाचन एउटा संघर्षको मोर्चाको रूपमा देखापरेको छ । मुखमै आइसकेपछि तंरगित जस्तो सपनासहित देशैभरी सहभागी भइरहेका छौं । विभिन्न ठाउँबाट संघर्ष गर्दैछौं । त्यसमध्येमा अग्रभागमा बसेर नेतृत्व गर्ने जिम्मा हामी सबैको हो ।’

उनले चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा पहिले बहस भए पनि अहिले त्यसमा टुंगो लागिसकेको धारणा व्यक्त गरे । महासचिव चन्दले वर्तमान राजनीतिक अवस्था अत्यन्त उतारचढावपूर्ण रहेको उल्लेख गर्दै पार्टी स्पष्ट रूपमा निर्वाचनमा जान चाहँदा पनि विभिन्न बाधा देखिएको बताए । राज्य र जनताको बीचको संघर्ष, शक्ति केन्द्रहरूबीचको लुछाचुडी, हस्तक्षेप, ध्रुवीकरण र तानातानका कारण पार्टी र राज्यबीच पनि संघर्ष देखिएको उनको भनाइ थियो ।

उनले भने, ‘चुनाव हुन्छ कि हुँदैन भन्ने एउटा बहस थियो, अहिले एकदमै टुंगो लागिसक्यो । मान्छे हेर्ने हो भने काठमाण्डुमा तरंग नै छ । यहीँ अवस्थामा हामी पनि निर्वाचनमा सहभागी हुने कि नहुने भन्दाभन्दै निर्वाचनमा जानका लागि कार्य विभाजन गरेर आएका छौं । अहिले एकदमै उतारचढावको अवस्था छ । स्पष्ट ढंगले निर्वाचनमा जान चाहन्थ्यौं तर राज्य र जनताको बीचको संघर्ष विभिन्न शक्ति केन्द्रबीचको लुछाचुडी, हस्तक्षेप, धुव्रीकरण, तानातान र त्यसपछि हाम्रा पार्टी र राज्यको बिचको पनि संघर्ष । यस्ता संघर्षहरू देखा परे । त्यसले निर्णयहरू नै संक्रमणकालीन तरिकाले गर्नुपर्ने अवस्थामा आइपुग्यौं । नेपाल राज्य नै एउटा संक्रमणमा छ ।’

यस्ता परिस्थितिका कारण निर्णयहरू संक्रमणकालीन रूपमा गर्नुपर्ने अवस्था आएको भन्दै उनले नेपाल राज्य नै अहिले संक्रमणको चरणमा रहेको टिप्पणी गरेका छन् ।