राष्ट्रिय सभा निर्वाचन : कांग्रेस–एमाले गठबन्धनले नेकपालाई घाटा

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस–एमाले गठबन्धनले नेकपालाई घाटा


काठमाण्डु – राष्ट्रिय सभा सदस्यको निर्वाचन आइतबार हुँदैछ । १९ सिटका लागि हुने निर्वाचनमा एक जना नेपाली कांग्रेसका सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने एक जना राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

जसका कारण आइतबार १७ सिटका लागि मात्र निर्वाचन हुनेछ ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

विद्यमान अवस्थामा राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको वर्चश्व छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक व्यवस्था छ ।

सातवटै प्रदेशमा ५५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ मतदाता रहेका छन् । उनीहरूको मतभार भने फरक–फरक हुन्छ ।

कुल जनसंख्यालाई प्रदेश सभाका कुल सदस्यले भाग गरेर प्रदेश सभाको मतभार लिइन्छ र त्यसलाई पुनः एक हजारले भाग गर्दा आउने भागफल एक प्रदेश सांसदको मतभार हुन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । कुल जनसंख्यालाई ५५० ले भाग गर्दा ५३०२६.५० हुन्छ ।

यसलाई पुनः १००० ले भाग गर्दा ५३.२६ आउँछ । यसरी एक प्रदेश सांसदको मतभार ५३ तय भएको हो ।

स्थानीय तहको कुल संख्यालाई दुईले गुणा गरी त्यसले कुल जनसंख्यालाई भाग गरेर आउने परिणामलाई फेरि १००० ले भाग गर्दा आएको भागफल स्थानीय तहको एक प्रतिनिधिको मतभार हो । यसअनुसार स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ हुन आउँछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन् । उनीहरू कोही पनि आगामी फागुन २० मा बिदा हुने छन ।
आगामी फागुन २० मा बिदा हुने राष्ट्रिय सभा सदस्यहरूमा एमालेका ८ जना र माओवादी केन्द्रका ७ जना छन् ।

नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका १/१ जना विदा हुँदैछन् ।

मनोनीत सांसद वामदेव गौतमले प्रतिनिधसभा निर्वाचन लड्न भन्दै राजीनामा दिएका छन् तर उनले टिकट पाएका छैनन् ।

हाल १७ सिटमा रहेको माओवादी केन्द्रका ७ जना बिदा हुँदा १० जना बाँकी रहन्छन् र चुनाव जितेर आउँदा थपिने हुन् ।

हाल १० सिटमा रहेको एमालेका ८ जना बिदा भएपछि २ जना बाँकी रहन्छन् । जति नयाँ जितेर आउँछन् उनीहरू थपिन्छन् । ८ सदस्य रहेको एकीकृत समाजवादीका १ जना बिदा हुँदा ७ जना बाँकी रहन्छन् ।

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेले सात–सात सिट लिने गरी गठबन्धन गरेका छन् । जसपा नेपाललाई मधेश प्रदेशमा तीन सिट दिइएको छ भने एक सिट लोकतान्त्रिक समाजवादीबाट उम्मेदवार रहेका महन्थ ठाकुरका लागि छ । ठाकुरले हाल जसपा नेपालसँगै एकता गरिसकेका छन् । नेकपा एक्लै चुनावी मैदानमा छ ।