गुल्मी-२ : विरासत जोगाउने विष्टको प्रयास, कम्युनिस्ट गढ भत्काउने कांग्रेसको दाउ

गुल्मी-२ : विरासत जोगाउने विष्टको प्रयास, कम्युनिस्ट गढ भत्काउने कांग्रेसको दाउ


काठमाण्डु- यसपटक प्रतिनिधि सभा निर्वाचनमा गुल्मी–२मा रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ।

गुल्मी–२मा एमालेका गोकर्णराज बिष्ट, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी र नेकपाका श्रीराम महत चुनावी मैदानमा छन्।

गत २०७९को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट विष्ट जितेका थिए । उनले तत्कालीन नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका थिए । झाँक्री अहिले एमालेमै प्रवेश गरेकी छन् ।

बिष्ट २०५६ सालदेखि निरन्तर रूपमा यस क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन्। उनले २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर थापा सागरसँग पराजय भएका थिए। तर त्यसपछि उनले लगातार विजय हासिल गर्दै आएका छन्।

यसपटक पनि बिष्ट आफ्नो राजनीतिक विरासत जोगाउने प्रयासमा छन्। अघिल्लो निर्वाचनमा उनकी प्रतिस्पर्धी झाँक्री पनि एमालेमै फर्किसकेपछि उनले धेरै राहत महसुस गरेकाछन् ।

झाँक्रीले पनि बिष्टलाई नै सघाउने भएकाले उनको जित सुनिश्चित भएको एमालेका नेता तथा कार्यकर्ता ढुक्क छन्।

रास्वपाका उम्मेदवार पन्थी पूर्व डीएसपी तथा अधिवक्ता समेत हुन। उनलाई पार्टीका नेता सागर ढकालले घरदैलो अभियानमार्फत साथ दिइरहेका छन्। उम्मेदवार पन्थी डीएसपी भएकै समयमा भुटानी शरणार्थी, भिजिट भिजा लगायतका प्रकरणको फाइल खोलिएको थियो।

कांग्रेसका उम्मेदवार श्रेष्ठ पूर्व जिल्ला सभापति हुन्। जिल्लामा स्वच्छ छवि भएका प्रखर वक्ताका रूपमा परिचित श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको मेयर पदमा पराजित भएका थिए।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा गुल्मी–२ (क) बाट लुम्बिनी प्रदेश सांसदमा पनि उनी पराजित भएका थिए। उनी यस क्षेत्रको पुरानो र अनुभवी नेता भएकाले यस पटक कम्युनिस्टको गढ तोड्नेमा कांग्रेस विश्वस्त छ।

नेकपाबाट उम्मेदवार बनेका महत जुझारु, मिलनसार र कर्तव्य पालना गर्ने मध्येका एक मानिन्छन्। उनी पहिले नेकपा एमालेमै थिए। पार्टी विभाजनसँगै महत एकीकृत समाजवादीमा गएका थिए। एमाले र कांग्रेसको मत तानेर विजयी हात पार्न उनलाई चुनौती देखिन्छ।

यस निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टीका कर्णबहादुर थापा, नेशनल रिपब्लिक नेपालका पदम थापा मगर, मङ्गोल नेशनल अर्गनाइजेसनका बेदबहादुर थापा, राष्ट्रिय जनमोर्चाका तारा बहादुर थापाक्षेत्री, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सन्त नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक सेनले पनि उम्मेदवार भएका छन् ।

त्यसैगरी भागिरथ थापा, भुमिराज सापकोटा, महेश्वर घिमिरे, मालता घिमिरे, रामप्रसाद घिमिरे, खुबिराम आचार्य, लोकबहादुर पुन, सरस्वती लम्साल, सुरेन्द्र पाण्डे, कुमारी हरिकला श्रीस मगर, नरेन्द्रप्रसाद रिजाल र फर्सुराम कडेल गरी १२ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।

गुल्मी–२ परम्परागत रूपमा एमालेको बलियो क्षेत्र मानिन्छ। २०६४ सालबाहेक अधिकांश निर्वाचनमा एमालेका बिष्टले नै विजय हासिल गर्दै आएका छन्। यसपटक भने कांग्रेस, रास्वपा र अन्य दलका उम्मेदवारले कडा चुनौती प्रस्तुत गर्ने देखिन्छ।

यस क्षेत्रमा कुल १ लाख ७ हजार ३ सय ६३ जना मतदाता छन्। जसमध्ये पुरुष ५४ हजार ४ सय २३, महिला ५२ हजार ९ सय ३८ र अन्य २ जना मतदाता छन्। यहाँ ६२ वटा मतदानस्थल र १ सय २९ वटा मतदान केन्द्र तोकिएका छन्।