काठमाण्डु – यसपटक प्रतिनिधि सभाको निर्वाचनमा सिरहाका ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूबिच रोचक प्रतिस्पर्धा हुने भएको छ ।
सिरहाका सबै क्षेत्रमा मन्त्री भइसकेका ९ जना विभिन्न दलबाट चुनावी मैदानमा उत्रिएका छन् ।
सबैभन्दा बढी सिरहा–४ मा ४ जना पूर्वमन्त्री प्रतिस्पर्धामा छन् । सिरहा–१ मा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट वर्तमान सरकारमा युवा तथा खेलकुदमन्त्री भएका बब्लु गुप्ता चुनावी मैदानमा छन् । गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा भाग लिएका छन् ।
सिरहा–३ मा एमालेका तर्फबाट पूर्वकानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री लीलानाथ श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वशान्ति तथा पुनर्निर्माणमन्त्री विश्वनाथ साह प्रतिस्पर्धाका लागि चुनावी मैदानमा छन् ।
सिराहा–४ मा जनता समाजवादी पार्टी नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वन्याय तथा कानूनमन्त्री अजयशंकर नायक, नेकपा एमालेबाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह र जनमत पार्टीका तर्फबाट पूर्व वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र बहुजनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवान प्रतिस्पर्धामा छन् ।
यसमध्ये राजकिशोर ३ पटक सांसद र २ पटक मन्त्री भइसकेका छन् । उनी २०६४ सालबाट निरन्तर चुनावी मैदानमा छन् । ४ निर्वाचनमध्ये उनले ३ पटक विजयी भएका छन् । यसअघि सिरहा–२ बाट चुनाव जितेका उनी त्यसअघि सिरहा–४ बाटै निर्वाचित भएका थिए ।
यादवले पहिलो संविधानसभा २०६४ मा तत्कालीन सिरहा–६ बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभा २०७० को निर्वाचनमा उनी यहीँबाट पराजित भए । २०७४ सालको आमनिर्वाचनमा सिरहा–४ बाटै निर्वाचित उनी २०७९ सालको निर्वाचनमा सिरहा–२ बाट निर्वाचित भए । अहिले उनी पुन: सिरहा–४ मा फर्केका छन् ।
जनमतका महतो यसअघि यसै क्षेत्रबाट जसपा नेपालबाट चुनाव जितेर सांसद हुँदै मन्त्री भएका थिए । २ पटक सांसद भएका उनी त्यसअघि जसपा नेपालबाटै समानुपातिक सांसद भएका थिए । तर जसपा नेपालबाट फुटेर बनेको जसपामा लागेका महतो यसपालि भने चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।
नेकपाका अजय शंकर समानुपातिक सांसद भएर मन्त्री भएका हुन् । २०७४ सालमा प्रत्यक्ष चुनाव लडेका उनी जसपा नेपालका राजकिशोर यादवसँग पराजित भएका थिए ।
एमालेका धर्मनाथ प्रत्यक्ष र समानुपातिक गरी २ पटक सांसद र १ पटक मन्त्री भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले टिकट नदिएपछि धर्मनाथ एमालेको टिकटबाट चुनावी मैदानमा उत्रेका छन् । लामो राजनीतिक पृष्ठभूमि भएका साह २०५६ सालको आमनिर्वाचनमा सिरहा–५ बाट नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई पराजित गर्दै सांसद भएका थिए । सोही बेला उनी सामान्य प्रशासन मन्त्री भएका थिए ।
बहुजनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री पासवान समानुपातिक सांसद हुँदै मन्त्री भएका हुन् । उनी पहिलोपटक निर्वाचनमा भाग लिँदै छन् । यसअघि सामानुपातिकबाट सांसद प्रवेश गरेका पासवान वाम राजनीतिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।
यससँगै यही क्षेत्रमा सबैभन्दा धेरै पूर्वमन्त्रीको उम्मेदवारी पर्ने क्षेत्र बनेको छ, जसले यहाँको चुनावी प्रतिस्पर्धा रोचक बनाउने छ ।
यसबाहेक यस क्षेत्रबाट कांग्रेसबाट चन्द्रकला देवी यादव र राष्ट्रिय स्वतन्त्र पार्टी तपेश्वर यादवले पनि उम्मेदवारी दिएका छन्, उनीहरू यसअघि चुनाव लडेका छैनन् ।




प्रतिक्रिया