काठमाण्डु – भारत सरकारले नेपाललाई १२ अर्ब बढी अनुदान रकम दिने भएको छ ।
आईतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०२६/०२७ मा ८०० करोड भारतीय रुपैयाँ अनुदान दिने जानकारी दिइन् ।
नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने बजेटमा उल्लेख छ । चालू आर्थिक वर्षमा भारतले नेपाललाई भारु ८३० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ । यसअघि सुरुमा भारतले ८०० करोड अनुदान दिने घोषणा गरे पनि पछि संशोधन गरेर ८३० करोड पुर्याएको थियो ।
छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिनेछ । भुटानलाई भारतले २ हजार २८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाइएको छ ।
भारतको आगामी बजेटमा माल्दिभ्सलाई साढे ५ अर्ब, म्यानमारलाई ३ अर्ब, श्रीलंकालाई ४ अर्ब, अफगानिस्तानलाई साढे १ अर्ब, बंगलादेशलाई ६० करोड, अफ्रिकी मुलुकहरूलाई २२५ करोड र मंगलोलियालाई २५ करोड भारतीय रुपैयाँ अनुदान दिने जनाइएको छ ।




प्रतिक्रिया