नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि

नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि


काठमाण्डु – सन् २०२६ जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ ।

नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो ।

कोभिड १९ महामारीपूर्व सन् २०१९ जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२६ को पहिलो महिनाको तथ्यांक हेर्दा पर्यटक आगमनमा भारत शीर्ष स्थानमा छ । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो ।

त्यसपछि चीनबाट ९ हजार १०१ (९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यसपछि अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ । मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले अनुसार सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमश: मजबुत हुँदै गएको संकेत भएको बताएका छन् ।

उनका अनुसार पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिको प्रमुख कारण हो । यी सकारात्मक तथ्यांकहरूले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’का रूपमा स्थापित हुँदै गएको सीईओ जोशीले बताएका छन् ।